Kathmandu Press

सूर्यग्रहण कीर्तिपुर, भद्रपुर र महेन्द्रनगरबाट देखाइने

काठमाडौं, पुस ९ : बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प....

सूर्यग्रहण कीर्तिपुर, भद्रपुर र महेन्द्रनगरबाट देखाइने

काठमाडौं, पुस ९ : बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ। समितिको कार्यालय कीर्तिपुरबाट सूर्यग्रहण हेर्न सकिनेछ।

सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले बताए। समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उनले बताए।

यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट पनि सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले बताए।

समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ। काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो।

जसअनुसार काठमाडौँमा बिहान ८ः४३, महेन्द्रनगरमा ८ः३८ र भद्रपुरमा ८ः४८ मा ग्रहण शुरु हुनेछ। यसैगरी ग्रहणको मध्य पनि काठमाडौँमा बिहान १०ः०१, महेन्द्रनगरमा ९ः५२ र भद्रपुरमा ९ः५९ मा हुनेछ। ग्रहणको अन्त्य काठमाडौँमा बिहान ११ः३३, महेन्द्रनगरमा ११ः१९ र भद्रपुरमा ११ः२७ मा हुने समितिले जनाएको छ।

यसैगरी ग्रहण अवधि काठमाडौँमा दुई घण्टा ५० मिनेट, महेन्द्रनगरमा दुई घण्टा ४३ मिनेट र भद्रपुरमा दुई घण्टा ५३ मिनेटसम्म रहनेछ। यसैगरी सूर्यग्रहणको दिप्तीक्रम काठमाडौँमा ०.५०१, महेन्द्रनगरमा ०.५११ र ०.४७४ हुनेछ। ग्रहण प्रतिशत भने काठमाडौँ र महेन्द्रनगरमा ३९ एवं भद्रपुरमा ३६ रहने जनाइएको छ।

यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ। पृथ्वीको केही भागको करिब १०० किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ। चन्द्रमाको छायाँको व्यास सूर्यको भन्दा सानो भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि रिङजस्तो देखिने निमित्त कार्यकारी निर्देशक शर्माले बताए। यस्तो अवस्थालाई ‘रिङ अफ फायर’ भनिन्छ।

साउदी अरबबाट ‘रिङ अफ फायर’ देखिन शुरु हुन्छ। कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ। बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ।

यसैगरी बलायाकार सूर्यग्रहण काठमाडौँबाट देखिने छैन। यहाँबाट खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्न सकिनेछ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्छ। सूर्यको प्रकाश चन्द्रमाले छेक्दा पृथ्वीमा पर्ने छायाँलाई नै सूर्यग्रहण हो।

पूरै सूर्य ढाक्ने गरी अर्थात् खग्रास सूर्यग्रहण पृथ्वीको एक स्थानमा ३७५ वर्षको अन्तरमा मात्र लाग्ने समितिले जनाएको छ। पृथ्वीबाट सूर्य लगभग १५ करोड किमि टाढा छ। सूर्यको व्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ। चन्द्रमाको व्यास पृथ्वीको एक चौथाइमात्र छ।

सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्नु नहुने समितिले जनाएको छ। यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ। एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन।

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने कार्यकारी निर्देशक शर्माले बताए। साधारण चश्माको प्रयोग गरेर समेत ग्रहण नहेर्न पनि उनले आग्रह गरेका छन्।

सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको समितिले जनाएको छ।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, पुस ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्