औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी
तालबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आज सांकेतिकरूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए।
रुपन्देही, मंसिर २५ : बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटीरूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन्।
कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यावहारिकरूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए।
तालबन्दीपछि आयोजित सभामा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आज सांकेतिकरूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताए।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकैपटक सात सय देखि आठ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको जनाउँदै व्यवस्थापनको मिचाहा प्रवृत्तिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड भाडा बापतको बक्यौता उठाउन बाँकी छ । विसं २०७५ साउनदेखि लागू हुने गरी लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो।
औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा पाँच÷पाँच वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ।
लिमिटेडले देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रबाट यसअघि पनि अलग–अलग भाडा लिँदै आएको थियो भने वृद्धि गर्दा पनि सोहीअनुसार वृद्धि गरेको जनाएको छ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक रु आठ हजार तीन सय २८ भाडा लिँदै आएकामा २०७५ सालमा १६ हजार दुई सय भाडा निर्धारण गरिएको थियो । यो भाडावृद्धि एक सय १६ प्रतिशत हो। त्यसयता उद्योगीहरूले विभिन्न ढङ्गले भाडा घटाउन दबाब दिँदै आएका छन्।











