Kathmandu Press

के हो क्षयरोग ? कसरी बच्ने ?

नियमित औषधि सेवनले निको हुने रोग भए पनि उपचारकाे दायरामा आउन नसकेका करिब ६० प्रतिशत क्षयरोगीका कारण नेपालका लागि पनि एउटा समस्या बनेर रहेको छ।  
के हो क्षयरोग ? कसरी बच्ने ?

विभिन्न संक्रामक रोगमध्ये क्षयरोग पनि एक हो। कम विकसित र अल्पविकसित देशहरूमा जनस्वास्थ्यको एक प्रमुख समस्याका रूपमा यो रोग रहेको छ। नियमित औषधि सेवनले निको हुने रोग भए पनि उपचारकाे दायरामा आउन नसकेका करिब ६० प्रतिशत क्षयरोगीका कारण नेपालका लागि पनि एउटा समस्या बनेर रहेको छ।  

के हो क्षयरोग ?

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस ब्याक्टेरियाबाट लाग्ने रोग हो। यस रोगलाई टिबी पनि भनिन्छ। यसले शरीरको जुनसुकै अंगमा संक्रमण गर्न सक्छ। यो एउटा सरुवा रोग हो।

Hardik ivf

प्रायः नेपालजस्तो देशका धेरै मानिसमा यो ब्याक्टेरिया सानै उमेरमा नै शरीरमा प्रवेश गरिसकेको हुन्छ। शरीरमा ब्याक्टेरिया प्रवेश गरे पनि धेरैमा रोग भने लागेको हुँदैन। तर कुनै कारणले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा वा कुनै रोगले लामो समयदेखि पिरोल्दा केही प्रतिशत मानिसमा क्षयरोगले आक्रमण गर्ने सम्भावना उच्च रहन्छ। 

क्षयरोग लाग्नुको कारण? 

शरीरमा माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरिया प्रवेश गरेपछि क्षयरोग लाग्छ। क्षयरोग जोसुकैलाई लाग्न सक्छ। तर शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसलाई यसले चाँडो आक्रमण गर्छ। कमजोर मानिसमा क्षयरोगले चाँडै लक्षण देखाउन थाल्छ।

यसका अतिरिक्ति पोषणको अभाव पनि क्षयरोग निम्तिनुको एउटा कारण हो। स्वस्थ जीवनशैलीको अभाव र अस्वस्थकर खानपानका कारण मानिसमा क्षयरोग देखा पर्ने गर्छ। खासगरी क्षयरोगीको सम्पर्कका कारणले यो रोग सर्ने गर्छ। त्यसकारण बढी जनघनत्व भएको स्थानमा बसोबास गर्दै आएका मानिसमा क्षयरोग लाग्ने उच्च सम्भावना रहन्छ। 

कस्ता हुन्छन् लक्षण?

क्षयरोग लाग्दा कमजोरी र थकान महसुस हुने गर्छ। रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हुन्। लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने क्षयरोग भएको हुन सक्छ।

शरीरको जुन भागमा क्षयरोगले संक्रमण गरेको छ, त्यसैअनुसार लक्षण देखापर्ने गर्छ। फोक्सोमा संक्रमण भएको छ भने निरन्तर खोकी लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखा पर्छन्। यसैगरी बिरामीको घाँटीमा गाँठाहरू देखिने, ज्वरो आउने, खलखली पसिना आउने, मुख सुक्खा हुने, खानामा अरुचि हुने र तौल घट्दै जानेजस्ता लक्षण देखापर्छन्। 

कसरी सर्छ? 

क्षयरोग मुख्यतया श्वाप्रश्वास र हावाबाट सर्ने रोग हो। यदि परिवारको कुनै सदस्यलाई क्षयरोग लागे उसले हाच्छिउँ गर्दा वा खोक्दा हावाद्वारा परिवारको अन्य सदस्यलाई पनि संक्रमण हुन सक्ने हुँदा निकै सावधानी अपनाउनुपर्ने हुन्छ। रोगीको र्‍याल, खकारमा पनि ब्याक्टेरिया हुने हुँदा जथाभावी खोक्दा अन्य व्यक्तिमा पनि सार्न सक्छ। 

कस्ता सावधानी अपनाउने? 

परिवारमा लामो समयदेखि कसैलाई खोकी छ भने समयमै अस्पतालमा गई उपचार गराउनु आवश्यक छ। रोग पुष्टि भएपछि बिरामीले मास्कको प्रयोग गर्नुुपर्छ। क्षयरोगको उपचार भएको एकदुई हप्तासम्म अरूलाई पनि सर्न सक्ने सम्भावना रहने भएकाले बिरामीका लागि छुट्टै खाने र बस्ने व्यवस्था मिलाउनु आवश्यक छ। 

उपचार पद्धति के छ?  

नेपालको परिवेशमा भने रोग लागेर खकारबाट रगत देखिन थालेपछि बिरामीलाई अस्पताल पुर्‍याउने गरिन्छ। रोग बल्झिँदै गएपछि औषधिले पनि काम नगर्ने हुन सक्छ। त्यस्तो अवस्थामा भने मानिसको ज्यान जाने सम्भावना उच्च हुन्छ। 

क्षयरोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गरिन्छ भने यसको औषधि पनि निःशुल्क वितरण हुँदै आएको छ। क्षयरोग उपचारका लागि एन्टिबायोटिक प्रयोग हुन्छ। कतिपय केसमा एउटै औषधिले काम नगर्न पनि सक्छ। त्यस्तो अवस्थामा तीनचारथरी औषधिको प्रयोग गरेर उपचार गर्ने गरिन्छ। क्षयरोगका बिरामीलाई करिब ६ महिना लगातार औषधि दिने गरेको छ। 

कसैकसैमा रोगको लक्षण नदेखिन पनि सक्छ। शरीरमा कीटाणुले सामान्य संक्रमण गरेको छ भने एकथरी औषधि दिएर पनि ६ महिना वा नौ महिनामा उपचार गरेर निको पार्न सकिन्छ। 

नेपालजस्तो देशमा सामान्य क्षयरोगको औषधिले काम नगर्ने देखिन्छ। क्षयरोग पुष्टि भइसकेपछि डाक्टरले बिरामीलाई ६ महिनासम्म नियमित खानेगरी औषधि दिने गरेको पाइन्छ तर त्यस्तो औषधिले काम नगर्दा एकातिर बिरामीमा रोग बल्झँदै जान्छ भने अर्कातिर परिवारमा अन्य सदस्यलाई पनि रोग सर्ने गर्छ। यस्तो खालको क्षयरोगलाई कडा खाले क्षयरोग भनिन्छ। 

सामान्य क्षयरोगका बिरामीलाइ ६ महिना सम्मको कोर्स पूरा गरे रोग निको हुन सक्छ भने कडा खाले क्षयरोगका लागे ६ महिनाभन्दा बढी समय लाग्नुका साथै ६/७ थरीका औषधि पनि दिनुपर्ने हुन्छ। 

त्यसैले क्षयरोग उपचार नपाउँदा बर्सेनि हजारौं मानिसको ज्यान जान भएकाले यसमा लापरबाही गर्नुहुँदैन। क्षयरोगको सामान्य लक्षण देखिनेबित्तिकै स्वास्थ्य जाँच गराउनु जरुरी छ। यो रोगको सरकारी अस्पतालहरूमा निःशुल्क औषधि पाइन्छ। कडा खालको क्षयरोग देखिए पनि निःशुल्क उपचार त हुन्छ तर त्यसका लागि अस्पताल सीमित छन्। 

(संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीमा आधारित) 
 

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, मंसिर २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्