Kathmandu Press

समानुपातिकतर्फ ९३ लाख मत गनियो, कुन दलले कति ल्याए?

थ्रेस होल्ड कटाउन संघर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन्।
समानुपातिकतर्फ ९३ लाख मत गनियो, कुन दलले कति ल्याए?

काठमाडाैं, मंसिर १२ : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कुल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ। 

Hardik ivf

नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्। 

थ्रेस होल्ड कटाउन संघर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार ८२६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्। 

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय १८, नेपाल मजदुर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय ४३ मत, मंगोल नेसनल अर्गनाइजेशनले ४५ हजार ६ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल संघीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा मालेले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन्। 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ६ सय ९४ मत प्राप्त गरेको छ। 

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ। प्रदेश १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ।

मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ।

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्