नुवाकोटमा ६ पदमा गठबन्धनका उम्मेदवार विजयी
मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुईदुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन्।नुवाकोट, मंसिर १० : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुईदुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मत अन्तरले विजयी भएका हुन्।
उक्त निर्वाचन क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार १ सय ६९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीन सय ५० मत आएको छ।
सोही निर्वाचन क्षेत्रको प्रदेश २ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको ११ हजार ८ सय ३१ मत प्राप्त भएको छ।
नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार ६ सय २० मत बढी छ। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीका अनुसार दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत र तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५ सय ६१ मत प्राप्त गरे।
उक्त निर्वाचन क्षेत्रको प्रदेश १ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगाना १२ हजार १ सय १० मत ल्याएर विजयी भए। ढुंगानाका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको ११ हजार ६ सय ६२ मत प्राप्त भएको छ।
नुवाकोट २ को प्रदेश २ मा १७ हजार दुई सय ४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ) ले नौ हजार १ सय २४ मत प्राप्त गरेका छन्।
नुवाकोटमा रहेको कूल दुई लाख ३९ हजार सात सय २६ जना मतदातामध्ये क्षेत्र नं १ मा ६३ हजार पाँच सय ८४ र क्षेत्र नं २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए।