धादिङ–२ मा १० हजार मतान्तरले कांग्रेसका रामनाथ अधिकारी विजयी
अधिकारीले एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ८३३ मतान्तरले पराजित गरेका हुन् ।
काठमाडौं, मंसिर ८ : धादिङ–२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका अधिकारीले एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ८३३ मतान्तरले पराजित गरेका हुन् ।
बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार अधिकारीले ३४ हजार ७८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोहनीले २३ हजार ९५० ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५ हजार ५२५ मत पाइन् ।
अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुन् । उनको संसद प्रवश गर्ने तेस्रो प्रयास सफल भएको हो । यसअघि ०६४ र ०७० निर्वाचनमा अधिकारी पराजित भएका थिए । ०७४ मा एमालेका लोहनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धन रहेका कारण यसपालि लोहनी पराजित हुन पुगेका हुन् ।
प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











