६ सय ६२ सहसचिवको समायोजन
काठमाडौं, माघ २९ : सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘....

काठमाडौं, माघ २९ : सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनीहरुलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको हो ।
उनका अनुसार आवेदन दिएको आधारमा सङ्घमा पाँचसय ६० र प्रदेशमा एक सय दुई सहसचिवको समायोजन गरिएको हो ।
यसअघि सरकारले आठ सय ४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने बताए ।
सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उनले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए ।
सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार नौसय २०, प्रदेशमा २२ हजार सातसय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय तीन कर्मचारी समायोजन गर्दैछ ।










