फराकिलो अग्रता लिँदै तीन पूर्वप्रधानमन्त्री, झलनाथ खनाल संकटमा
चार पूर्वप्रधानमन्त्री उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।काठमाडौं, मंसिर ७ : मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । एकाध निर्वाचन क्षेत्रका नतिजा सार्वजनिक भइसकेका छन् । केही जिल्लामा भर्खरै मतगणना सुरु हुँदा केही जिल्लाको मतगणना अन्तिम चरणमा पुगेको छ।
बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट भारी मतान्तरले विजयी हाँसिल गरिसकेका छन् । २५ हजार ५३४ मतसहित प्रधानमन्त्री देउवा विजयी हुँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका थिए । यहाँ कांग्रेस (बी.पी)का कर्ण मल्लले ७ हजार ५३५ मत पाएका थिए।
विभिन्न दलका चार पूर्वप्रधानमन्त्री उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा भने मतगणना जारी छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले झापा–५ मा फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । बुधबार दिउँसोसम्मको मतगणनामा ओली सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा दोब्बर मतान्तरले अग्रस्थानमा छन् ।
ओलीले ४४ हजार ८०५ मत ल्याउँदा कांग्रेसका अधिकारीले २१ हजार १५४ मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले ८ हजार ७४३ मत ल्याएका छन् । दोब्बर बढी मतान्तरले अगाडि रहेका कारण यहाँ ओलीको जित सुनिश्चित देखिन्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोब्बर मतान्तरले अग्रता लिएका छन् । गोरखा–२ बाट उम्मेदवार रहेका प्रचण्डले हालसम्म १९ हजार ५३१ मत ल्याएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ७ हजार १६७ मत ल्याएका छन् भने एमालेका अब्दुस सलाम मिँयाले ५ हजार १६७ मत ल्याएका छन् । फराकिलो मतान्तरका कारण यहाँ प्रचण्डले जित्ने सम्भावना बढी छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच हजार मतान्तरले अगाडि छन् । नेपालले २० हजार ८६९ मत ल्याउँदा एमाले उम्मेदवार अजयकुमार गुप्ताले १५ हजार ८०१ मतसहित पच्छ्याइरहेका छन्।
तीन पूर्वप्रधानमन्त्री सहज अवस्थामा हुँदा झलनाथ खनाल भने पछि परेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल इलाम–१ का उम्मेदवार हुन् । खनालले ८ हजार ७८० मत पाउँदा नेकपा एमालेका महेश बस्नेतले १० हजार २८७ मतसहित अग्रता लिएका छन् । बस्नेत र खनालबीचको मतान्तर १ हजार ५०७ छ ।