प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस अगाडि, अरूकाे अवस्था के छ?
नतिजा आइसकेका २४ मध्ये १३ क्षेत्रमा नेपाली कांग्रेसले बाजी मारेको छ। नेकपा एमालेले चार स्थानमा जित निकालेको छ।काठमाडाैं, मंसिर ७ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणनाअनुसार बुधबार दिउँसो साढे १ बजेसम्म प्रतिनिधिसभा अन्तर्गतका १६५ क्षेत्रमध्ये २४ क्षेत्रमा नतिजा आइसकेको छ भने १३५ वटामा मतगणना जारी छ। ६ वटा क्षेत्रमा भने मतगणना थाल्ने तयारी भइरहेको छ।
नतिजा आइसकेका २४ मध्ये १३ क्षेत्रमा नेपाली कांग्रेसले बाजी मारेको छ। नेकपा एमालेले चार स्थानमा जित निकालेको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले तीन स्थानमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान एकएक स्थानमा विजयको झन्डा गाडेका छन्।
मतगणना जारी रहेका १३५ क्षेत्रमध्ये ४१ वटामा कांग्रेस, ४४ वटामा एमाले र १४ वटामा माओवादी केन्द्रले अग्रता लिइरहेका छन्।
त्यसैगरी एकीकृत समाजवादी ६, राष्ट्रिय स्वतन्त्र पार्टी ५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ४/४, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ३/३ र जनमत पार्टी २ तथा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी १/१ स्थानमा अगाडि छन्। अन्य साना दल र स्वतन्त्रतर्फका उम्मेदवारले सात ठाउँमा अग्रता लिइरहेका छन्।
प्रदेशसभातर्फ पनि मतगणना जारी छ। त्यता पनि कांग्रेस अगाडि छ। उसले प्रदेशसभा सदस्यका लागि ३० वटा स्थानमा जित निकाल्दा ५४ वटामा अग्रता लिइरहेको छ। एमालेले ७ वटा स्थानमा विजय हासिल गर्दा ७२ वटामा अग्रता लिइरहेको छ।
माओवादी केन्द्रको ९ वटामा जितेर १६ वटा अग्रता लिइरहेको छ। दुईवटामा जितिसकेको एकीकृत समाजवादीले १२ वटामा अग्रता लिइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनवटामा जित निकाल्दै ११ वटामा अग्रता कायम राखेको छ। जनात पार्टीले चारवटामा विजय हासिल गरिसकेको छ। उसले दुई स्थानमा अग्रता लिइरहेको छ।
जनता समाजवादी पार्टीले १३ वटामा अग्रता लिइरहँदा तीनवटामा विजय प्राप्त गरिसकेको छ। नागरिक उन्मुक्ति पार्टीले पनि दुई स्थानमा विजयको झन्डा गाडिसक्दा चारवटामा अग्रता लिइरहेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले एउटामा जित निकाल्दै पाँचवटामा अग्रता लिइरहेको छ। अन्य दुईले पनि अग्रता लिइरहेको छ।