काठमाडौं १ र ३ मा कांग्रेसको ‘क्लिन स्विप’
प्रतिनिधिसभातर्फ ठमाडौं १ बाट प्रकाशमान सिंह र काठमाडौं ३ बाट सन्तोष चालिसे निर्वाचित भएका छन्।काठमाडाैं, मंसिर ७ : काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन्।
काठमाडौं १ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ६ हजार तीन सय मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए। श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए। यसैगरी नेकपा एमालेका रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरे।
यस्तै साेही क्षेत्रकाे प्रदेशसभा २ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछाने चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरे। दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थियाे।
काठमाडौं १ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन्। सिंहको यो चौथो पटकको जित हो। नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएको हो।
यसैगरी कांग्रेसले काठमाडौं ३ मा ‘क्लिन स्विप’ गरेको छ। काठमाडौं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएका छन्। प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित भएका छन्।