दाङ-२ मा भेटिए हस्ताक्षर नभएका ८८ मतपत्र
मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।दाङ, मंसिर ६ : दाङ क्षेत्र नं. २ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएका छन् । मतगणनाका क्रममा मंगलबार ८८ वटा मतपत्र भेटिएपछि केही समय मतगणना पनि स्थगित भएको थियो।
हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।
मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो ।
सो क्षेत्रमा एमालेका शंकर पोखरेल र माओवावादीकी रेखा शर्मा मुख्य प्रतिर्स्धी छन्। पोखरेलविरुद्ध शर्माले अग्रता बनाएकी छिन्।