प्रारम्भिक मतपरिणाम : सबैभन्दा अगाडि कांग्रेस, दाेस्राे स्थानमा एमाले, तेस्राेमा स्वतन्त्र पार्टी
सोमबार साँझ ५ बजेसम्म प्रतिनिधिसभातर्फ ५९ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ।काठमाडौं, मंसिर ५ : आइतबार सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।
सोमबार साँझ ५ बजेसम्म प्रतिनिधिसभातर्फ ५९ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ।
मुस्ताङबाट विजयको खाता खोलेको कांग्रेस २० स्थानमा अगाडि रहेको छ। केहीबेरअगाडिसम्म अग्रस्थानमा रहेको एमाले अहिले दोस्रो स्थानमा झरेको छ। विजयको खाता खोल्न बाँकी रहेको एमाले १६ स्थानमा अगाडि देखिएको छ।
त्यसैगरी हालसाले स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता तेस्रो स्थानमा रहेको छ। उसले सात स्थानमा अग्रता लिइरहेको छ।
त्यसैगरी चौथो स्थानमा रहेर अग्रता कायम गरिरहेको राप्रपा तीन क्षेत्र अगाडि देखिएको छ।
त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टी र हाल जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले दुईदुई स्थानमा अग्रता लिइरहेका छन्।
नेकपा माओवादी केन्द्रको अग्रता तीन स्थानमा छ। नेकपा एकीकृत समाजवादी तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) एक, लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टी एक स्थानमा अगाडि छन्।
जनता समाजवादी पार्टी (जसपा) ले भने कतै पनि अग्रता लिन सकेका छैन।