बाजुराकाे त्रिवेणीमा शान्तिपूर्ण वातावरण बनाउन गृहमन्त्रीकाे निर्देशन
त्रिवेणी नगरपालिका–७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विवाद र झडप हुँदा दुईजनाको मृत्यु भएको थियाे भने तीन जना घाइते भएका थिए। त्यहाँकाे परिस्थिति अझै सहज भइसकेकाे छैन।काठमाडाैं, मंसिर ५ : गृहमन्त्री बालकृष्ण खाणले बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
त्रिवेणी नगरपालिका–७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विवाद र झडप हुँदा दुईजनाको मृत्यु भएको थियाे भने तीन जना घाइते भएका थिए। त्यहाँकाे परिस्थिति अझै सहज भइसकेकाे छैन।
आइतबार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलेको थियो।
गोली लागेर स्थानीय सन्दीप ऐडीको घटनास्थलमै मृत्यु भएको थियो भने विपक्षीको कुटपिटबाट घाइते भएका एमाले कार्यकर्ता चेतन ऐडीको अछामस्थित बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सोही विषयलाई लिएर सोमबार त्रिवेणी नगरपालिकामा तनावग्रस्त बनेको छ।
गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रतप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउने वातावरण बनाउन निर्देशन दिएका हुन्।