शीर्ष नेता कसले कहाँबाट गरे मतदान?
संविधानसभाबाट प्राप्त संविधानले गरेको नयाँ व्यवस्थाअनुरूप आज दोस्रो आम निर्वाचन देशभर जारी छ। यसैक्रममा विभिन्न दलका शीर्ष नेताहरू आफ्नो मतदाता नामावली रहेका मतदानस्थल तथा मतदान केन्द्रहरुमा पुगेर मतदान गरेका छन्।काठमाडाैं, मंसिर ४ : संविधानसभाबाट प्राप्त संविधानले गरेको नयाँ व्यवस्थाअनुरूप आज दोस्रो आम निर्वाचन देशभर जारी छ। यसैक्रममा विभिन्न दलका शीर्ष नेताहरू आफ्नो मतदाता नामावली रहेका मतदानस्थल तथा मतदान केन्द्रहरुमा पुगेर मतदान गरेका छन्।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा मतदान गरे।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभूत विधालय मतदान केन्द्रमा मतदान गरेका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सूर्योदय नगरपालिका ९ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरे।
काङ्ग्रेस महामन्त्री एवं काठमाडौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। कांग्रेस नेता एवं झापा ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले झापा १ स्थित भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको मतदान केन्द्र (क) बाट मतदान गरे।
कांग्रेस महामन्त्री एवं झापा १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं झापा ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य एवं मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला आदर्श माध्यमिक विद्यालय विराटनगर–७ स्थित मतदान स्थलको ‘ख’ केन्द्रमा मतदान गरे। कांग्रेस नेता विमलेन्द्र निधि धनुषाको नगराइन नगरपालिका २ मा रहेकोे राजेश्वर निधि माविमा मतदान गरेका छन्। कांग्रेस सहमहामन्त्री महेन्द्र यादव धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ मा रहेको दिवस दीप दलित प्रावि मतदान केन्द्रमा मतदान गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–१ स्थित राष्ट्रिय शमसेर माध्यमिक विद्यालय मतदानस्थलमा मतदान गरेका छन्। प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले भोजपुरको दक्षिण शिक्षाज्योति आधारभूत विद्यालय आमचोक मतदान केन्द्रमा मतदान गरे।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी काठमाडौं महनगरपालिका १० स्थित सानो गौचरन पार्क मतदान केन्द्रको पुरानो बानेश्वरबाट मतदान गरेका छन्। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं चितवन २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार उमेश श्रेष्ठले भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कुल केन्द्रमा मतदान गरे। नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित सडक डिभिजन कम्पान्डमा रहेको मतदान केन्द्रमा मतदान गरे।
लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगर कञ्चनपुरको पुर्नवास नगरपालिका ३ रामबस्तीमा रहेको गोर्खा आधारभूत विद्यालयमा मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीले ललितपुर महानगरपालिका १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदान गरेकी छन्।
एमाले केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेकोे सहृदय पुस्तकालयमा मतदान गरे। कांग्रेस नेता एवं उम्मेवाद चन्द्र भण्डारीले गुल्मीको जनजागृति माध्यमिक विधालय मतदान केन्द्रमा मदतान गरे।
एमाले उपाध्यक्ष एवं चितवन १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका ५ स्थित भण्डारा मावि केन्द्रबाट मतदान गरे। कांग्रेस नेता एवं काठमाडौं १० का उम्मेदवार प्रकाशमान श्रेष्ठले पकनाजोलस्थित नेपाल युवक मावि स्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित–७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरे। पूर्वमन्त्री एवं एमाले केन्द्रीय सचिव लेखराज भट्ट कैलाली ४ बाट मतदान गरेका छन्।
इलाम २ प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्बाङले इलामकै महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मतदान गरे। एमाले नेता एवं उम्मेदवार शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची ११ को जागेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले सोही क्षेत्रस्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन ३ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेले काठमाडौं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गरे।
अर्थमन्त्री जनार्दन शर्माले यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिस्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरे।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरे।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरे।
कांग्रेसका नेता एवं तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र (ख) बाट मत खसाले।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको (क) मतदान केन्द्रमा मतदान गरे। मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कमल थापाले हेटौंडा–६ स्थित बंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरे। कांग्रेस नेता विजयकुमार गच्छदारले सुनसरीको दुहवी–४ स्थित बिपी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरे।