मताधिकार प्रयोग गर्न मतदातालाई निर्वाचन आयोगकाे आह्वान
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका हुन्।काठमाडाैं, मंसिर ३ : निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका हुन्।
उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत् शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता र सुनिश्चितता प्रदान गर्ने भएकाले आफ्नो मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन आग्रह गरे।
थपलियाले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको जानकारी दिए। मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारी अवरोध पु¥याउनेलाई कानून बमोजिमा कारबाही गर्नका लागि आवश्यक निर्देशन दिइएको उनको भनाइ छ।
आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ।