Kathmandu Press

मतदाता अभिमत (काठमाडाैं ४) : कतै आशा कतै गुनासा

‘सेवाभाव राखेर राजनीति गर्ने व्यक्ति दुर्लभ भइसके, अब जोसँग पैसा छ त्यसले मात्र राजनीति गर्न सक्छ,’ पुरानो बानेश्वरका रवीन्द्र शाक्य भन्छन्, ‘नेता भाषण मात्र गर्छन्, काम गर्दैनन्। स्वच्छ भावनाले नि:स्वार्थ सेवा गर्ने नेता अपेक्षा नगरे पनि हुने भने।’
मतदाता अभिमत (काठमाडाैं ४) : कतै आशा कतै गुनासा

काठमाडौं कात्तिक २४ : काठमाडौं-४ मैतीदेवीका ९० वर्षीय दुर्गाबहादुर केसी कांग्रेस महामन्त्री गगन थापाका छिमेकी हुन्। थापा फेरि प्रतिनिधिसभाका लागि उम्मेदवार बनेर भोट माग्न आउँदा उनले कुनै गुनासो गरेनन्। ‘छिमेकी भएकाले भनेको होइन कि थापामा खोट लगाउने कुनै ठाउँ नै छैन, किनभने उनले जनतालाई भ्रममा राखेका छैनन्,’ उनी भन्छन्।

२०७४ को निर्वाचनमा जारी घोषणपत्रमा उल्लेख भएजति काम सबै गर्न नसके पनि थापाले गरेका हरेक निर्णयमा देशको माया झल्किने केसीको दाबी छ। थापाले देशलाई माया गरेर निर्णय गर्ने हुँदा आफूले सम्मान गर्ने केसीको भनाइ छ। ‘जो आए पनि एकै काम गर्ने हुन्, दोहोरिनु नौलो कुरा होइन,’ उनी भन्छन्। घोषणापत्रमा भएका सबै काम पूरा हुनैपर्छ भन्ने छैन तर गरिएका जति काम पारदर्शी र देशको हितमा हुनुपर्नेमा उनी जोड दिन्छन्। 

316038405_675341527559360_7165739716793286213_n1668681046.jpg
दुर्गाबहादुर केसी, मैतीदेवी

२०७० र २०७४ मा काठमाडौं-४ बाट निरन्तर निर्वाचित भइरहेका थापा उम्मेदवार भएर आउँदा कतिपय मतदाता खुसी छन्। तर कतिपय भने उनीप्रति आक्रोश पनि व्यक्त गर्छन्। काठमाडौं ४ चावहिलका स्थानीय कर्ण श्रेष्ठ उम्मेदवार थापालाई लक्षित गरी पाँच वर्षअघि मत माग्न आएकाे त्यसपछि फर्केर नआएको गुनासो गर्छन्। ‘एकपटक आउँछन् र विभिन्न आशा देखाएर जान्छन् तर कहिल्यै फर्कंदैनन्,’ उनी भन्छन्, ‘जनता नेताको भाषणको भ्रममा परेका छन्।’ अब जनता भाषण सुनेर झुक्किन नहुने उनको भनाइ छ।

Hardik ivf

उनका अनुसार सडक बनाउनु मात्र विकास होइन। महँगीले सीमा नाघिसक्यो। पसलअनुसार मूल्य फरकफरक छन्। कसैको निगरानी छैन, कारबाही कसैले गर्दैनन्। सरकारी कार्यालयमा मौलाएको भ्रष्टाचार रोक्ने तदारुकता कोही देखाउँदैनन्। ‘अहिले सरकारी कार्यालयमा खुलेआम भ्रष्टाचार हुन्छ,’ उनी भन्छन्, ‘राजनीति गरेर सेवा गर्नुपर्ने ठाउँमा नेताहरूले टाउकामा टेकेर जनता मारिरहेका छन्।’

नेताहरूले जनताका समस्या न्यूनीकरणमा भन्दा कार्यान्वयन गर्नै नसकिने योजना बनाउने प्रतिस्पर्धा गरिरहेकोमा उनलाई चित्त बुझेको छैन। थापाले २०७४ मा कपनमा ढल व्यवस्थापन गर्ने, साँघुरा सडक फराकिलो पार्ने, महँगी नियन्त्रण गर्ने, सरकारी जग्गाको संरक्षण गर्ने, क्षेत्रवासीलाई रोजगारीको अवसर प्रदान गर्ने घोषणा गरेका थिए। तिनै तिनै मुद्दा लिएर थापा भोट माग्न आइपुग्दा नमिठो लागेको उनी बताउँछन्। ‘धेरै पटक एउटै नेतालाई विश्वास गरेर समय खेर फालिरहेका छौं। कुरा गर्ने नेता धेरै आए, अब काम गर्ने नेता भेटिए मात्र भोट दिन्छु, नत्र नो भोट,’ उनी भन्छन्। पुराना प्रतिबद्धता लिएरै भोट माग्न आएका नेता देख्दा लाज लाग्ने मान्छेले राजनीति गर्न सक्दैनन् भन्ने बुझाइ आफूमा विकसित भएको उनको भनाइ छ।

काठमाडौं-४ कपन गुम्बाका ६७ वर्षीय स्थानीय राममणि आचार्य उम्मेदवारले आशा मात्र देखाएर नहुने जितेपछि त्यसलाई पूरा गर्ने हिम्मत राख्नुपर्ने बताउँछन्। ‘हामी तपाईंको समस्या समेट्छौं भन्दै आशा देखाउँछन् तर जितेपछि पूरा गर्दैनन्।’ भोट माग्न घरघरमा आउनेहरू संसदमा पुगेपछि भेट्ने र आफ्ना समस्या राख्ने भन्ने कुरा कल्पनाबाहिर हुन थालेको उनी सुनाउँछन्। ‘इमानदारीपूर्वक काम गर्ने र जनता उद्धार नेतै कोही भएनन्,’ उनी भन्छन्। 

उनको बुझाइमा अध्ययनबिना ठुल्ठुला योजनाको आशा देखाएर चुनावी कार्यक्रम गर्दै हिँड्नु गलत हो। चुनाव जितेपछि त्यस्ता योजना पूरा गर्न सांसदबाट सम्भवै नहुने उनको बुझाइ छ। त्यस्तो अवस्थामा व्यक्तिगत फाइदाका लागि जनता झुक्याएको अर्थ लाग्ने र जनतामा राजनीतिक दल तथा नेताप्रति वितृष्ण जाग्ने आचार्यको भनाइ छ। जेजे बोले पनि कामगराइ राम्रो भए केही फरक नपर्ने बताउँदै उनले नेताहरूले देशलाई कत्ति पनि माया नगरेको भान भइरहेकाे बताए। ‘हामीलाई दिएनन् भन्ने गुनासो होइन, नेताले देशलाई माया नै गरेनन् भन्ने हाे,’ उनले भने, ‘देशमा भ्रष्टाचारले सीमा नाघेका बेला त्यसको नियन्त्रणका लागि नीति सुधारको पहल नेताहरूले गर्दै गरेनन्। राम्रो नेता आउँछन् भनेर पर्खिरहे पनि अब निराशा बढ्न थालेको छ।’

315519685_853887602321415_4913788394900161666_n1668681045.jpg
राममणि आचार्य (बायाँ) र कर्ण श्रेष्ठ, चावहिल 

उनी अहिले सबै नेता एउटै मार्गमा हिँडिरहेको आरोप लगाउँछन्। एउटा सानो काम गरे पनि बाजा बजाएर हल्ला गर्ने तर कुनै कमजोरी सुन्न नरुचाउने नेताबाट देशमा परिवर्तन अपेक्ष गर्नु बेकार हुने तर्क उनी गर्छन्। नयाँ पुस्तालाई जिताए देश विकासमा टेवा पुग्ने सम्भावन भने बाँकी रहेको उनी सुनाउँछन्। ‘नयाँ युवाले फरक बाटो बनाउन सके जनताको मुहार फेर्न सकिएला नत्र देश कहिले सुध्रिन्न,’ उनी भन्छन्, ‘अब कार्यान्वयनयोग्य योजना र नेताको व्यवहार हेरेर मात्रै भोट दिन्छौं।’ आफू कुनै पार्टीमा आबद्ध नभएको बताउने आचार्य नेताले चुनावी घोषणपत्रमा भनेअनुसार काम नगरेकाले स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिने धारण व्यक्त गर्छन्।

काठमाडौं–४ चावहिलका स्थायी बासिन्दा ५५ वर्षीय कृष्ण संगत निर्वाचनमा उम्मेदवारले अघि सारेका एजेन्डा हात्तीका देखाउने दाँतझैं भएको टिप्पणी गर्छन्। ‘हरेक निर्वाचनअघि उम्मेदवारहरू आ–आफ्ना ऐजन्डा बोकेर भोट माग्न आउँछन्, निर्वाचित भइसकेपछि एजेन्डामा रहेर कामै गर्दैनन्,’ उनी भन्छन्। उनी अघिल्लो चुनावमा जसलाई समर्थन गरिएको थियो, त्यसलाई भोट नदिने पक्षमा छन्। उनी पार्टीहरूको आफ्नो विश्वास टुटेको बताउँछन्। ‘यो निर्वाचनमा त ४० वर्षभन्दा कम उमेरको स्वतन्त्र युवालाई समर्थन गर्ने योजनामा छु,’ उनी भन्छन्। 

काठमाडौं ४ कपनका स्थायी बासिन्दा हरि केसीको गुनासो पनि कृष्णको भन्दा फरक छैन। उनी पनि यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई नै मत दिने योजनामा छन्। 

314395405_1206077176931101_1181766140893925824_n1668681045.jpg
हरि केसी, कपन

अघिल्लोपटकको निर्वाचनमा जितेका उम्मेदवारले भनेजस्तो विकास नगरेपछि यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट दिने निर्णयमा उनी पुगेका हुन्। विकासको काम गर्ने आश्वासन पाइए पनि खानेपानीको समस्या, फोहोरमैलाको व्यावस्थापन हुन नसक्नु र शिक्षित युवाले बेरोजगार भएर बस्नुपर्नेलगायत समस्या अहिले पनि यथावत् नै रहेको उनले बताए। 

कपनकै स्थायी बासिन्दा कृष्ण लामा काठमाडौंलाई विकासको मार्गमा लान हरेक मतदाताले आफ्नो अमूल्य मतको सही सदुपयोग गरी युवा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिन्छन्। गलत उम्मेदारलाई निर्वाचित गरियो भने विकास अझै पछाडि धकेलिने उनको भनाइ छ। 

काठमाडौं-४ जयबागेश्वरकी लक्ष्मी संगत अघिल्लो निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका गगन थापालाई समर्थन गरेको बताउँछिन्। यसपालि पनि उनी त्यसै गर्ने योजनामा छिन् । ‘हाम्रो परिवार गगन थापाले गरेका हरेक निर्णय र कामबाट प्रभावित छ,’ उनले भने, ‘त्यसकारण यसपटक पनि गगनलाई समर्थन गर्ने हाम्रो योजना छ।’

315353232_1267646383809100_1565370534192662581_n1668681045.jpg
सुनिल चन्द, मैतीदेवी

काठमाडौं–४ मैतीदेवीकी ३० का सुनिल चन्दको भने निर्वाचनप्रति विश्वास नै टुटिसकेको छ। उम्मेदवारहरूले जनतालाई झुक्याएर, फकाएर सत्तामा पुग्ने र निर्वाचित भइसकेपछि मनोमानी ढंगले काम गर्ने, भ्रष्टाचार लिप्त रहने प्रवृति देख्दा निर्वाचनप्रति आफ्नो विश्वास हराएको उनी सुनाउँछन्। ‘त्यसैले यो वर्ष निर्वाचनबाट टाढा बस्ने योजना छ,’ उनी भन्छन्।

काठमाडौं ४ बाट थापाका साथै नेकपा एमालेका राजन भट्टराई पनि उम्मेदवार छन्। यसअघि सांसद भइनसकेकाले क्षेत्रवासीका लागि उनी परीक्षण भइसकेका नेता होइनन्। २०७४ सालमा पनि थापा र भट्टराई नै उम्मेदवार थिए। त्यतिबेला थापा निर्वाचित भएका थिए। निर्वाचित नभए पनि भट्टराई पनि थापाभन्दा फरक नहुने केही स्थानीय बताउँछन्। भट्टराई आबद्ध पार्टी एमालेले पनि पूरा हुन नसक्ने खालका योजना ल्याएर जनता झुक्याइरहेकाले यसपटक जिते पनि कुनै आशा गर्न नसकिने धारणा उनीहरूको छ। भट्टराईले जिते भरपर्दो विकास सम्भव हुने धारणा व्यक्त गर्नेहरू पनि भेटिए।  

तथापि चुनावी माहोल तातिँदै जाँदा स्थानीय कोही आक्रोश व्यक्त गर्न र कोही चुनावी माहोलमा सहयोग गर्न व्यस्त छन्। 

‘रेमिटेन्सले कहिलेसम्म देश चलाउने?’

काठमाडौं ४ चावहिलकी २८ वर्षीया रुबी शाहले युवालाई स्वदेशमै रोजगारी दिने योजनामा जनप्रतिनिधि चुकेका छन्। ‘फ्री भिसा फ्री टिकट’ भन्दै युवालाई खाडीमा पठाउने योजना नेताहरूले बनाउनु भनेको देशमा रोजगारी सिर्जना गर्न नसक्ने भन्नुजस्तै भएकाे उनको बुझाइ छ। जनप्रतिनिधि जनताको श्रम बेचेर खान पल्किएको टिप्पणी उनले गरिन्। 

‘स्वदेशमै केही गर्ने, स्वदेशमै उत्पादन बढाउने, कलकारखाना खोल्ने जस्ता काम गर्नुपर्छ भन्ने योजना नै पाइएन। स्वदेशमै रोजगार बनाउँछु भन्नुको सट्टा लाखौं युवालाई विदेश पठाउने योजना बनाएर चुनाव जित्ने बाटो रोज्नु गलत हो,’ उनले भनिन्। साँच्चिकै देश र जनताको माया बोकेका नभएको उनको भनाइ छ। ‘नेताको सिफारिसबिना कुनै जागिर पाइँदैन,’ उनले भनिन्, ‘युवा स्वदेशमा जागिर नपाएर भौतारिरहँदा चुनाव जिते खाडी पठाउँछु भन्नु चित्तबुझ्दो कुरा भएन।’ 

जनताले विदेशमा कमाउने र त्यसबाट प्रापत रेमिटेन्सबाट कहिलेसम्म देश चलाउने भनेर उनले आक्रोश पोखिन् । ‘जनशक्ति विदेशमा पठाउनुहुँदैन, स्वदेशमै रोकेर उपयोग गर्नुपर्छ’ भन्ने चेत नेतामा नआएकोमा उनी दुःख व्यक्त गर्छिन्। ‘तत्काल फाइदा हुनेभन्दा दिगो विकास र जनतालाई टेवा पुग्ने योजना अहिलेका उम्मेदवारसँग छैन,’ उनले भन्छिन्, ‘ठुल्ठुला योजना देखाएर भाषण दिनेबाहेक केही गदैनन्, त्यसैले यसपालि कुनै दलका नेतालाई नभई स्वतन्त्र उम्मेदरलाई मत दिने हो ।’ 

‘निःस्वार्थ भावना राखेर जनताको सेवा गर्ने नेता भेटिन छाडे’ 

काठमाडौं-४ मै पर्ने पुरानो बानेश्वरका स्थानीय रवीन्द्र शाक्य १६/१७ वर्षदेखि आफ्नै टोलमा किराना पसल चलाइरहेका छन्। पाँच वर्षमा सरकार फेरिए पनि योजना बदलिए पनि जनताको हालत भने झन्झन् कमजोर हुँदै गएको उनी बताउँछन्। ‘योजना त सुन्दा त राम्रा लाग्छन् तर कार्यान्वय शून्य हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले अब भोट दिँदा ठन्डा दिमागले सोच्नुपर्ने बेला आएको छ।’ 

राजनीति निःस्वार्थ भावनाले गरिने योगदान भए पनि नेताहरूल त्यसलाई कमाउने भाँडो बनाएको उनको आरोप छ। ‘सेवाभाव राखेर राजनीति गर्ने व्यक्ति दुर्लभ भइसके, अब जोसँग पैसा छ त्यसले मात्र राजनीति गर्न सक्छ,’ उनी भन्छन्, ‘नेता भाषण मात्र गर्छन्, काम गर्दैनन्। स्वच्छ भावनाले नि:स्वार्थ सेवा गर्ने नेता अपेक्षा नगरे पनि हुने भाे।’

उनी केही प्रतिशत भए पनि आशा गर्न सकिने नेता भेटिए भोट दिने बताउँछन्। ‘पाँच वर्षमा गगन थापाले केही गरेनन्, अब अरूलाई नै मौका दिने योजना छ,’ उनी भन्छन्। १० वर्षमा केही गर्न नसकेको थापालाई भोट दिने जनता मूर्ख भएको भन्न पनि उनी पछि परेनन्।
 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्