Kathmandu Press

ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा

प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।
ललितपुरका प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा

पाटन, मंसिर १ : प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। ६ वटै स्थानीय तह रहेको यस जिल्लामा एक महानगरपालिका दुई नगरपालिका र तीन गाउँपालिका छन्। 

ललितपुर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि दाहाल र नेकपा एमालेका उम्मेदवार मधुसुधन पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा १८ हजार तीन सय ३७ पुरुष, १८ हजार चार सय ४५ महिला र एक अन्य गरी ३६ हजार सात सय ८३ मतदाता रहेका छन्। 

यस प्रदेश निर्वाचन क्षेत्रमा महाङ्काल गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाको वडा नं. १, ४ र ५ तथा गोदावरी नगरपालिकाका १, २, ३, ४, ५ र १३ गरी १५ वडा पर्छन्। यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। 

Hardik ivf

ललितपुर १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जन र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै उम्मेदवार २०७४ को प्रदेशसभा निर्वाचनमासमेत प्रतिस्पर्धी हुनुहुन्थ्यो। त्यस बेला सञ्जेलले महर्जनलाई तीन सय मतले पछि पार्दै जीत हासिल गर्न सफल भएका थिए। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

यहाँ १८ हजार आठ सय ९० पुरुष र १८ हजार सात सय २४ महिला गरी ३७ हजार छ सय १४ मतदाता रहेका छन्। यस प्रदेश निर्वाचन क्षेत्रमा वाग्मती गाउँपालिकाका पूरै वडा, कोञ्ज्योसोम गाउँपालिकाका वडा नं २ र ३ तथा गोदावरी नगरपालिकाका ६, ७, ८, ९, १० र ११ गरी १५ वडा पर्छन्। यस क्षेत्रमा ४५ मतदान केन्द्र रहेका छन्। 

ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठ र एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका उम्मेदवार श्रेष्ठ महालक्ष्मी नगरपालिकाका निवर्तमान प्रमुख छन्। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी नौ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

यहाँ १९ हजार आठ सय तीन पुरुष र २१ हजार तीन सय २३ महिला गरी ४१ हजार एक सय ३० मतदाता रहेका छन्। यस प्रदेश निर्वाचन क्षेत्रमा महालक्ष्मी नगरपालिकाका पूरै वडा र ललितपुर महानगरपालिकाको वडा नं १७ गरी ११ वडा पर्छन्। यस क्षेत्रमा ४७ मतदान केन्द्र रहेका छन्। 

त्यस्तै ललितपुर २ प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार र एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यबीच प्रतिस्पर्धा हुने देखिएको छ। एमालेका उम्मेदवार शाक्य निवर्तमान वाग्मती प्रदेशसभा सदस्य छन् भने चित्रकार संविधानसभा सदस्य छन्। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

यहाँ १९ हजार नौ सय ३८ पुरुष र २० हजार आठ सय २९ महिला गरी ४० हजार सात सय ६७ मतदाता रहेका छन्। यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं. ६, ७, ८, ९, ११, १२, १६ र १९ गरी आठ वडा पर्छन्। यस क्षेत्रमा ४६ मतदान केन्द्र रहनेछन्। 

ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजकाजी महर्जन र एमालेका उम्मेदवार रघुनाथ महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनकातर्फबाटका उम्मेदवार महर्जन निवर्तमान वाग्मती प्रदेशसभा सदस्य छन् भने रघुनाथ पुस्तक तथा स्टेशनरी व्यवसायी छन्। 

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ २३ हजार पाँच सय ८५ पुरुष र २५ हजार चार सय ९६ महिला गरी ४९ हजार ८१ मतदाता रहेका छन्। यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं ५, १३, १४, १५, २३, २४, २६, २७, २८ र २९ तथा गोदावरी नगरपालिकाका १२ र १४ गरी १२ वडा पर्छन्। यस क्षेत्रमा ५६ मतदान केन्द्र रहेका छन्।

त्यस्तै ललितपुर ३ प्रदेशसभा निर्वाचन क्षेत्र ९२० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतेन्द्रकुमार श्रेष्ठ र एमालेका उम्मेदवार प्रेमभक्त महर्जनबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका उम्मेदवार श्रेष्ठ पार्टीको जिल्ला सभापतिसमेत छन्। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी नौ उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ २१ हजार सात सय २१ पुरुष र २३ हजार तीन सय १४ महिला गरी ४५ हजार ३५ मतदाता रहेका छन्। 

यस प्रदेश निर्वाचन क्षेत्रमा ललितपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४, १०, १८, २०, २१, २२ र २५ गरी १० वडा पर्छन्। यस क्षेत्रमा ४९ मतदान केन्द्र रहेका छन्। यस जिल्लामा एक लाख २२ हजार दुई सय ७४ पुरुष र एक लाख २८ हजार एक सय ३५ महिला गरी कूल दुई लाख ५० हजार ४ सय १० मतदाता रहेका छन्। जिल्लाभर दुई सय ९० मतदान केन्द्र रहने निर्वाचन आगोगले जनाएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्