आतंकवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : सहबाज सरिफ
'हामी कुनै गल्ती नगरौं। आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो। हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन्।इस्लामाबाद, (पाकिस्तान), मङ्सिर १ : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतंकवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन्।
'हामी कुनै गल्ती नगरौं। आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो। हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन्। लक्की मारवातमा प्रहरी भ्यानमा आतंककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन। मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,' सरिफले ट्विटरमा लेखेका छन्।
पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ। पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए।
प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए। पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका छन्। उनले मुख्य सचिव र प्रहरी महानिरिक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन्।
संघीय गृहमन्त्री सनौल्लाले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाप्रति चिन्ता व्यक्त गदै प्रहरी कर्मचारीको शहादतप्रति गहिरो दुःख र खेद व्यक्त गर्नुभएको उनको कार्यालयले ट्वीटर सन्देशमा लेखेको छ।