Kathmandu Press

देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके

मर्जरपश्चात् बैंकको कूल पूँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड गरी कूल निक्षेप चार सय अर्ब, कूल कर्जा तीन सय ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।
देशकै ठूलो बैंक बन्दै ग्लोबल आइएमई बिओके

काठमाडाैं, कात्तिक २८ : ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच मर्जर सम्बन्धी अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मर्जर सम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्षद्वयले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पु¥याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।

यस्तै, बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए। उनले मुलुकको आर्थिक रुपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता भएको दुवै मर्ज गर्न लागिएको बताए ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल र अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर हुने व्यवस्था दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जरपश्चात् बैंकको कूल पूँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड गरी कूल निक्षेप चार सय अर्ब, कूल कर्जा तीन सय ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।

मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ। नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ।

सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकालसहित पाँच र बैंक अफ काठमाण्डूका तर्फबाट दुईजना रहनेछन्। बैंकको सिईओमा ग्लोबल आइएमई बैंकका रत्नराज बज्राचार्य रहने छन्।

कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन्।

दुवै बैंकहरू एकापसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनाका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकका रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ।

 

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्