तीव्र गतिका कारण १९ यात्रुको ज्यान गयो : छानबिन समिति
अर्घाखाँची, पुस २ : तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
मंसिर....
अर्घाखाँची, पुस २ : तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो।
दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिमा नौ जना सदस्य रहेका थिए। समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का अध्ययन गरिएको थियो। त्यस्तै, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी गरिएको थियो।
घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागज अध्ययन गरिएको थियो।
यो सबैमा तीव्रगतिका कारण बस दुर्घटना भएको देखाखिएको छानबिन समितिका संयोजक बेल्बासेले बताए।