दातृ निकायलाई अर्थमन्त्रीले भने, ‘सडकमा लगानी गर्नुहोस्’
काठमाडौं, माघ २९ : अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको विकासका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गरिरहेको बताएका छन् । उनले सडकमा लगान....

काठमाडौं, माघ २९ : अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको विकासका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गरिरहेको बताएका छन् । उनले सडकमा लगानी गर्न दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह समेत गरेका छन् ।
सडकनै मुख्य पूर्वाधार भएकोले यसकोे स्तर सुधारमा सरकारको ध्यान केन्द्रीत भएको उनले बताए । अर्थमन्त्री खतिवडाले सामाजिक तथा पूर्वाधार क्षेत्रको स्तरवृद्धिका लागि लगानी बढाउनुपर्ने बताउँदै त्यसमध्ये पनि सडकमा लगानी अति महत्वपूर्ण भएको जिकिर गरे ।
अर्थमन्त्री खतिवडाले नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यालय तथा स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा लगानी गर्नुपरेको बताए ।
संयुक्त राष्ट्र संघले तय गरेको दीगो विकासका १७ लक्ष्यमध्ये नवौँ लक्ष्य पूर्वाधारलाई मानेको उल्लेख गर्दै उनले व्यापारिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताए ।
“व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्छ, त्यसका लागि पनि लगानी गर्ने हो,” उनले भने । कृषि क्षेत्र तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास हुनुपर्ने भएकाले सरकारको ध्यान राम्रो सडक भएको बताए ।
यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको उनको भनाइ थियो । अर्थमन्त्री खतिवडाले रेलवे तथा पानीजहाजको विकासका लागि पनि काम गरिरहेको बताउँदै सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो हिसाबबाट काम अघि बढाउनुपर्नेमा जोड दिए ।











-1754206481.jpg)