Kathmandu Press

सत्यमोहनलाई सम्झिँदै गिरीश गिरीले भने– उहाँ सदैव देश र जनताको भलो कसरी हुन्छ भनेर सोचिरहनुहुन्थ्यो

शताब्दी पुरुष जोशीको आत्मकथा ‘सत्यमोहन’ गत वर्ष चैत ४ मा सार्वजनिक भएको थियो। उक्त पुस्तक पत्रकार एवं लेखक गिरिश गिरीले तयार पारेका थिए।
सत्यमोहनलाई सम्झिँदै गिरीश गिरीले भने– उहाँ सदैव देश र जनताको भलो कसरी हुन्छ भनेर सोचिरहनुहुन्थ्यो

काठमाडौं असोज ३० : ललितपुरको किस्ट अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। 

आज (आइतबार) बिहान ७ बजेर ९ मिनेट जाँदा उनको निधन भएको हो। उनको २४ दिनदेखि किस्ट अस्पतालमा उपचार भइरहेको थियो। 

शताब्दी पुरुष जोशीको आत्मकथा ‘सत्यमोहन’ गत वर्ष चैत ४ मा सार्वजनिक भएको थियो। उक्त पुस्तक पत्रकार एवं लेखक गिरिश गिरीले तयार पारेका थिए। लामो समयदेखि जोशीलाई नजिकबाट चिनेका गिरी शताब्दी पुरुष जोशी लाई यसरी सम्झन्छन् : 

उपचारका क्रममा उहाँ (सत्यमोहन जोशी) लाई किस्ट अस्पतालको आइसियुमा राखिएको थियो। दुईदिन पहिलामात्र नर्मल भएर सामान्य वार्डमा सारिएको थियो। अक्सिन बढी आवश्यक परेपछि उहाँलाई पुनः आइसियुमा लगियो। त्यतिबेला ३० लिटर प्रतिमिनेट अक्सिजन दिनुपर्ने भएको थियो। त्यो अवस्था विस्तार घट्दै गएको थियो। अवस्था सुध्रिने आशा थियो। तर आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भयो। 

उहाँ देशलाई माया गर्ने मान्छे हुनुहुन्थ्यो। हाम्रो पुस्ताले देखेभेटेका मध्ये देशप्रेमीको उदाहरण हुनुहुन्थ्यो उहाँ। उहाँले जस्तो देशलाई प्रेम गर्ने, कर्म गर्ने, भाषा–साहित्य, संस्कृतिलगायत समग्र क्षेत्रमा योगदान दिने व्यक्ति अहिले धेरै कम छन्। त्यसैले उहाँको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ। 

व्यक्तिगत रूपमा उहाँलाई म मेरो बाल्यकालदेखि नै चिन्थें। पत्रकारका रूपमा भने उहाँलाई चिन्न थालेको दुई दशक भयो। करिब ५÷६ वर्षअघिदेखि उहाँका बारेमा संस्करण तथा सम्झनाहरू लेख्न थालेको हुँ। 

६ महिनाअगाडि उहाँको जीवनी प्रकाशन गरेको थिएँ। त्यहीक्रममा अझै नजिकबाट उहाँलाई चिन्ने मौका मिल्यो। उहाँ देशलाई असाध्यै माया गर्ने र कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो। 

देशप्रतिको अगाध माया भएकै कारण उहाँले देशका लागि धेरै योगदान दिन सक्नुभयो। उहाँबाट युवापुस्ताले विशेषगरी सिक्नुपर्ने कुरा भनेकै देशप्रतिको माया हो। 

उहाँले दिएको योगदान संख्यामा गन्न सकिँदैन। आज हरेक नागरिकलाई बोल्न सहज बनाइएको खस भाषाको खोजी गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुुहुन्थ्यो। उहाँले २०२७ सालमा कर्णालीमा पुगेर खस भाषाको अध्ययन–अनुसन्धान गर्नुभएको थियो। कर्णालीको लोक संस्कृति भनेर पाँचवटा पुस्तक निस्कियो। उक्त पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो। 

राष्ट्रिय नाचघर पनि उहाँकै देन हो। २०१६ सालमा उहाँको योजनाअनुसार नै नाचघर बनाइएको हो। उहाँकै योजनामा देशमा राष्ट्रिय संग्रालयहरू पनि अनगिन्ति बनेका छन्। उहाँलाई सम्झिने भौतिक तथा अन्य धेरै कुरा छन्। 

उहाँसँग विभिन्न फरकफरक कार्यक्रममा भेट भइरहन्थ्यो। जीवनी लेख्दा धेरैपटक भेटघाट भयो। उहाँलाई बुझ्नु थियो। जतिपटक जसरी भेटघाट हुँदा पनि उहाँको कुरागराइमा देशप्रतिको माया झल्किन्थ्यो। उहाँ देश, जनताको कसरी भलो हुन्छ भन्नेबारेमा सोचिरहनुहुन्थ्यो। व्यवहार, कुरा र कामगराइ सबैमा उहाँमा देशप्रतिको माया देखिन्थ्यो।

सम्झना त अब सधैं आइरहन्छ। तर धेरै सम्झिने भनेको उहाँले गर्ने देशप्रतिको माया हो। देशप्रतिको अगाध माया भएकै कारण उहाँले देशका लागि धेरै योगदान दिन सक्नुभयो। उहाँबाट युवापुस्ताले विशेषगरी सिक्नुपर्ने कुरा भनेकै देशप्रतिको माया हो। 

अहिले हाम्रो समाजको हिरो को हो भन्ने कुराको खडेरी परिरहेको छ। हामीले राष्ट्रिय जीवनमा ठुलो व्यक्ति भनेर सजाएका मानिसले ससाना गुट, स्वार्थमा केन्द्रित हुन थालेको देखिन्छ। ‘देशलाई माया गर्ने मान्छे जन्मिएकै छैन त?’ भन्दा उहाँको नाम सहजै लिन सकिन्थ्यो। 

आज त्यही शब्दावली ढलेको छ। आज इतिहास ढलेको छ। जुन अब सम्झनामा मात्र रहन्छ।

(काठमाडौं प्रेसकर्मी सरिशा अछामीले पत्रकार गिरीश गिरीसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्