निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा, माघ ७ गतेको मिति प्रस्ताव
काठमाडौं, मंसिर २३ : निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात्....

काठमाडौं, मंसिर २३ : निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ७ मा गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएपछि त्यसअघि नै निर्वाचन गर्ने गरी आयोगले माघ ७ गतेलाई प्रस्ताव गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन–२०७५ मा कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने व्यवस्था रहेको छ । संघीय संसदले राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको व्यवस्था मिलाउन पत्राचार गरेपछि आयोगले प्रस्ताव पठाएको हो ।
निर्वाचन आयोगले पठाएको प्रस्तावमा छलफल गरेर उपयुक्त ठहर गरेपछि निर्वाचनको मिति घोषणा भने सरकारले गर्नेछ । राष्ट्रियसभामा रहेका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका १ जना र निर्वाचनबाट आएका १८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ ।
जसमध्ये राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडा सहित सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।










