Kathmandu Press

विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती खडा हुन्छ : यादव 

नेता रामसहायप्रसाद यादवले  राष्ट्रपतिबाट विधेयक समयमा प्रमाणीकरण नहुँदा लोकतन्त्र, जनताको सार्वभौम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको अपमान एवं अवमूल्यन भएको बताए। 
विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती खडा हुन्छ : यादव 
Hardik ivf

काठमाडौं, असोज ५ : जनता समाजवादी पार्टीले संविधानले दिएको समयसीमाभित्र राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नभएको घटनाले  देश, लोकतन्त्र र संविधान कार्यान्वयनमा चुनौती खडा भएको जनाएको छ।
 
पार्टी नेता रामसहायप्रसाद यादवले  राष्ट्रपतिबाट विधेयक समयमा प्रमाणीकरण नहुँदा लोकतन्त्र, जनताको सार्वभौम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको अपमान एवं अवमूल्यन भएको बताए। 

उनले भने, ‘राष्ट्रपतिले नागरिकता विधेयकलाई मात्र हेर्न हुन्न, दुवै सदनबाट दुई पटक पारित भएर पुनः प्रमाणीकरण पठाइएको विधेयकमा संवैधानिक अधिकार र जिम्मेवारीबाट बाहिर जाने काम भएको छ। नेपाली नागरिकका लाखौँका सङ्ख्यामा रहेका सन्तान अनागरिक बन्ने र संवैधानिक हकबाट वञ्चित हुने स्थिति भएको छ।’
  
विधेयक प्रमाणीकरण नभएको अवस्थाले संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थामा  प्रहार भएको उल्लेख गर्दै  नेता यादवले  भने, ‘यो घटनाले ठूलो  षडयन्त्रको सङ्केत गरेको छ । संविधानभन्दा बाहिर गएर जुनसुकै व्यक्तिले काम गर्नुहुँदैन।’
  
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण  देशमा राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र  विधायिकाले नै संविधान नमान्ने स्थितिले लोकतन्त्रलाई सुदृढीकरण गर्न नसक्ने बताए।  उनले भने, .‘दुवै सदनबाट पारित भई पेश भएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक बाध्यता हो। प्रमाणीकरण भएन भने विकल्पका रुपमा सरकारले अध्यादेश जारी गर्नुपर्छ। यो घटनालाई गम्भीररुपमा लिनुपर्छ, अन्यथा संविधान कार्यान्वयनमा असर पर्छ।’ 

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्