Kathmandu Press

म्याग्दीमा आठ मतदानस्थल थपिए

जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो।
म्याग्दीमा आठ मतदानस्थल थपिए

बेनी, असोज ४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदानस्थल थपिएका छन् । 

जिल्लास्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थल थप गरेको हो। भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएकासहित म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम भएको जानकारी दिए। 

Hardik ivf

गत स्थानीय तह चुनावमा ७४ मतदानस्थलमा एक सय १४ केन्द्र थिए । धवलागिरि, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई÷दुईवटा मतदानस्थल थपिएका हुन् । धवलागिरि गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नं ७ धारापानीको चन्द्रकुन्ता किसानी माविमा मतदानस्थल कायम भएको छ। 

मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदानस्थल थपिएको छ । रघुगङ्गा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ। 

अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नं ८ को काफलडाडाँ आधारभूत विद्यालयमा पनि मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदानस्थल थपिएपछि भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुई देखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा एक सय ५७ जना मतदाता छन्। 

आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४  महिला र एक तेस्रो लिङ्गी गरी कूल ८६ हजार एक सय २० मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँसराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या कायम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् । 

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । 

बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ०६८, धवलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम भएका छन्। 

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्