Kathmandu Press

बागलुङमा बढ्दो डेङ्गु सङ्क्रमण, परीक्षणका लागि किट अभाव

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।
बागलुङमा बढ्दो डेङ्गु सङ्क्रमण, परीक्षणका लागि किट अभाव

बलेवा, असोज ४ : बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।

जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिइन्।

Hardik ivf

‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ,’ उनले भनिन्, ‘अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ।’ 

स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए। 

‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ,’ उनले भने, “अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ । 

डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । 

डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ। 

प्रकाशित मिति: १०:०५ बजे, मंगलबार, असोज ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्