बाँझो जमीनमा खेती गर्ने किसानलाई भत्ता
बागलुङको ताराखोला गाउँपालिका कृषि उत्पादन बढाउन बाँझो जमीनमा खेती गर्ने किसानलाई भत्ता दिन थालेको छ।
बागलुङ, असोज ४ : बागलुङको ताराखोला गाउँपालिका कृषि उत्पादन बढाउन बाँझो जमीनमा खेती गर्ने किसानलाई भत्ता दिन थालेको छ।
कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिए।
यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उनले बताए। कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी दुई हजार उपलब्ध गराउने उनले जानकारी दिए।
बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उनको भनाइ छ। उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने उनले बताए।
ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ।
पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिए। उनले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताए।
उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुनेगर्छ। उनले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताए। (रासस)












