Kathmandu Press

अबको यात्रा आर्थिक समृद्धि : प्रदेश प्रमुख गुरुङ

अबको यात्रा आर्थिक समृद्धि : प्रदेश प्रमुख गुरुङ

पाेखरा, असाेज ३ : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको अबको यात्रा आर्थिक समृद्धिको भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख गुरुङले बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए। 

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै उहाँले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा यसले जोडेको बताए।

Hardik ivf

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिए।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको उनले बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री एवं मूल समारोह समितिका संयोजक कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको बलिदानीपूर्ण संघर्षको जगमा प्राप्त संविधानले राजनीतिक मुद्दा टुङ्ग्याएको बताए।

सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै अब आर्थिक समृद्धि र विकासतर्फ लम्कनुपर्ने आवश्यकता औँल्याए।

गण्डकी प्रदेश सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै यहाँका सम्भावनालाई उजागर गरी ‘समृद्ध प्रदेश सुखी प्रदेशवासी’को लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए। प्रदेश सरकारको पहिलो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उनले आगामी दिनमा परिवर्तनकारी शक्ति अझै एकताबद्ध भई समृद्धि र विकासका लागि जुट्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानले कल्पना गरेका विषय यसबीचमा कति कार्यान्वयन भए वा भएनन् समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए। यस अवधिमा बनेका कानुनको कार्यान्वयनको अवस्थाबारे पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रम अघि पोखराको शहीद चोकस्थित शहीदको शालिकमा माल्यार्पण गरी मुख्यमन्त्रीको कार्यालयसम्म प्रभातफेरी गरिएको थियो। प्रभातफेरीमा मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारीसहित प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता थियो। उक्त अवसरमा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो। 

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्