Kathmandu Press

संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन’
संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं, असोज ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानले नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको बताएकी छन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको बताएकी हुन् । 

Hardik ivf

उनले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान ऐतिहासिक उपलब्धी रहेको बताएकी छन् । संविधानले सामाजिक सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।  

‘उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा उर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्दै कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु पर्दछ। संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारहरूको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नु पर्दछ,’ सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको पनि बताएकी छन् ।‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन,’ राष्ट्रपतिले भनेकी छन्,‘यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अंगहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु।’

उनले स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरुलाई बधाई र शुभकामना ज्ञापन गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । 

राष्ट्रपति भण्डारीले संविधान जारी भएपश्चात मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदाताहरुलाई आग्रह गरेकी छन्।
 

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्