Kathmandu Press

पाकिस्तानको सिन्ध प्रान्तमा एकैदिन नब्बे हजार बढीको उपचार

कराँची, असोज २ : अविरल वर्षाका कारण आएको बाढी र त्यसबाट प्रभावित भएका पाकिस्तानको सिन्ध प्रान्तका ९० हजार जनालाई एकैदिन जलजन्य रोगको उपचार गरिएको...
पाकिस्तानको सिन्ध प्रान्तमा एकैदिन नब्बे हजार बढीको उपचार

कराँची, असोज २ : अविरल वर्षाका कारण आएको बाढी र त्यसबाट प्रभावित भएका पाकिस्तानको सिन्ध प्रान्तका ९० हजार जनालाई एकैदिन जलजन्य रोगको उपचार गरिएको छ। प्रान्तीय स्वास्थ्य विभागका अनुसार गत बिहीबार बाढी प्रभावित ९२ हजार सात सय ९७ नागरिकलाई जलजन्य सङ्क्रामक रोगबाट जोगाउन चिकित्सासेवा प्रदान गरिएको हो।

सोही दिन १७ हजार नौ सय ७७ जना झाडाबान्ताका, २० हजार ६४ जना छालाका रोगी र २८ जना डेङ्गुका रोगी थपिएका विभागले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा स्थापना गरिएका अस्थायी र घुम्ती अस्पतालबाट हालसम्म २३ लाख बिरामीले सेवा लिएका छन्। 

पाकिस्तानका विभिन्न भागमा आएको बाढीमा परी एक हजार पाँच सय आठ जनाको मत्यु भएको छ । बितेका २४ घण्टामा थप २२ जनाको ज्यान गएको छ । सोही अवधिमा नौ जना घाइते भएका छन् । बाढीमा परी घाइते हुनेको सङ्ख्या १२ हजार सात सय ५८ पुगेको छ । बाढीबाट ३० अर्ब डलर बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ। 

संयुक्त राष्ट्रसङ्घ र सरकारले तापक्रम वृद्धिमा भएको बढोत्तरीले वर्षा भएको र त्यसले भीषण बाढी निम्त्याएको बताएका छन् । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले जलवायु परिवर्तनका कारण पाकिस्तानले भोगेको समस्या अन्य देशले पनि सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुनसक्ने बताएका छन् । 

उनले धनी देशले जलवायु परिवर्तनको जिम्मेवारी लिनुपर्ने बताएका छन्। आफ्नो देशमा परेको अविरल वर्षाको प्रभावलाई उल्लेख गर्दै उनले सिन्धमा एक सय किलोमिटर चौडा ताल बनेको र त्यसले आवासीय क्षेत्रमा असर गरेको बताए। 

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्