कमाण्ड अवधारणालाई यथावत राख्दै, पृतनालाई अघि बढाउँदै सेना

काठमाडाैं, भदाै ३१ : नेपाली सेनाले कमाण्डको अवधारणालाई यथावत राख्दै साङ्गठनिक पुनःसरचना २०७८ लागू हुनुपूर्व कायम रहेका पृतना, बाहिनी, गण र गुल्मको संरचना कायम राख्ने निर्णय गरेको छ ।
फिल्डदेखि जङ्गीअड्डासम्म सेनाको सन्तुलित उपस्थिति भई चेनअफ कमाण्डलाई मजबुद बनाउने उद्देश्यले विगतका संरचना यथावत कायम राख्न सैनिक मुख्यालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले यही भदौ २१ गते स्वीकृत गरेको छ। सो निर्णयलाई कार्यान्वयन गर्दा थप आर्थिक दायित्व नपर्ने र कूल दरबन्दी सङ्ख्या यथावत नै रहने नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए।
उनले भने, 'निकट भविष्यमा नै आठवटै पृतना पूर्ववत् रूपमा क्रियाशील भई आसन्न निर्वाचनमा सेना परिचालन हुनका लागि सहज हुने भएकाले मन्त्रिपरिषद्को निर्णयअनुरूप आवश्यक तयारी र योजना भइरहेको छ।'
देशको प्रादेशिक तथा स्थानीय संरचनासँग सामञ्जस्यता कायम गरी निर्वाचन सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षालगायतका प्राप्त जिम्मेबारीलाई प्रभावकारीरूपमा सम्पादन गर्न असहजता भएपछि सेना कमाण्डसँगै पृतना अवधारणालाई अघि बढाउने निर्णयमा पुगेको हो।
स्वीकृत साङ्गठनिक संरचना, २०७८ लाई कार्यान्वयनमा लैजाँदा आइपरेका व्यावहारिक कठिनाइ, कानूनी तथा नीतिगत व्यवधान, कमाण्ड हेडक्वार्टरलगायत तल्लो तहबाट प्राप्त पृष्ठपोषणका आधारमा सेना उक्त निर्णयमा पुगेको छ। पुनःसंरचना लागू गर्दा खडा गर्नुपर्ने युनिटका लागि आवश्यक आर्थिक उल्झन बहन गर्न हालको अवस्थामा असम्भव प्राय भएको सेनाको स्पष्टोक्ति छ।












