चीनकाे दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी

चाङ्सा, भदाै ३१ : चीनको हुनान प्रान्तको व्यावसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो ।
आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए। साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले उद्धार कार्य जारी राखेको थियो । त्यतिबेलासम्म कुनै हताहतीको खबर आएको थिएन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने सयौं मिटर टाढासम्म उक्त आगलागीबाट निस्किएको धुवाँको मुस्लो फैलिएको देखिएको छ ।
सन् २००० मा बनेको २१८ मिटर अग्लो उक्त भवन चाङसा सहरकै सबैभन्दा अग्लो थियो । साथै ४२ तले उक्त भवनका दुई तला अन्डरग्राउन्ड थियो ।
आगलागीका कारण थुप्रै तला भत्किए पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । उद्धारकार्य अहिले पनि जारी राखिएको बताइएको छ ।












