Kathmandu Press

कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

कञ्चनपुर, भदौ ३० : कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क...
कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

कञ्चनपुर, भदौ ३० : कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्।
 
बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा महँगो शुल्कमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गराएको बताए। ‘हिजो राति म अस्पताल आएको हूँ, यहाँ परीक्षण गर्न किट नभएपछि मैले निजी प्रयोगशालामा परीक्षण गरेँ,’ उनले भने, ‘निजी प्रयोगशालामा डेङ्गुको परीक्षणको एक हजार दुई सय रू स्क्रबटाइफसको रु एक हजार तिरेँ।’
    
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव रहेको बताए। उनले अस्पतालमा दैनिक ३०÷४० जना लक्षण भएका बिरामी आउने गरेको बताए। ‘बिरामीको सङ्ख्या बढेको छ तर किट छैन, हामीसँग भएको किट पुग्दैन,’ उनले भने, ‘महाकाली अस्पताललाई दैनिक ४० वटासम्म किट आवश्यक परेको छ।’ महाकाली अस्पतालमा भदौमा मात्रै ३६ जनामा डेङ्गु र ३२ जनामा स्क्रब टाईफस सङ्क्रमण देखिएको छ ।  हाल डेङ्गुका सात र स्कब्रटाइफसका तीन जना बिरामी उपचाररत छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले पनि परीक्षण गर्न किट अभाव रहेको जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए। ‘जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ हामीसँग पर्याप्त किट छैन,’ उनले भने, ‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई किट उपलब्ध गराउन पत्राचार गरेका छौँ।’ 

Hardik ivf

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार भदौमा मात्रै कञ्चनपुरमा ३२ जनामा डेङ्गु र २० जनामा स्क्रबटाइफस देखिएको छ । जिल्लामा सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिकामा १९ जनामा डेङ्गु र पाँच जनामा स्क्रबटाइफस देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। उनका अनुसार वेदकोट नगरपालिकामा एक, कृष्णपुरमा नगरपालिकामा तीन जना, बेलौरी नगरपालिकामा दुई, भीमदत्त नगरपालिकामा तीन र लालझाडी तथा बेल्डाडी गाउँपालिकामा चार जनामा डेङ्गु देखिएको हो।

‘कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ, यसबाट सबैले सुरक्षित हुन जरुरी छ,’ उनले भने, ‘अहिले भारत र काठमाडौँबाट आएकाहरुमा बढी जसो डेङ्गु देखिन थालेको छ।’  उनले कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामी दिनहुँ बढ्दै गएको बताए। 

उनले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले बर्सातमा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेको लार्भा बस्ने र यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्ने बताए। 

‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन,’ उनले भने, ‘यसबाट बच्न विषादी छर्किर्ने र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ।’ जिल्लामा सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालयले प्रत्येक नगरपालिकामा स्वयंसेविका परिचालन गरी लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्ने तयारीमा छ।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्