Kathmandu Press

नुवाकोटको सूर्यगढीमा वडा कार्यालयको सेवा चार ठाउँबाट

नुवाकोट, भदाै ३० : नुवाकोटको सूर्यगढी गाउँपालिका–१ को कार्यालयले दिने सेवा चार स्थानबाट उपलब्ध गराउने भएको छ। कार्यालय रहेको स्थान सोलेमानेसहित चार स्थानबाट...
नुवाकोटको सूर्यगढीमा वडा कार्यालयको सेवा चार ठाउँबाट

नुवाकोट, भदाै ३० : नुवाकोटको सूर्यगढी गाउँपालिका–१ को कार्यालयले दिने सेवा चार स्थानबाट उपलब्ध गराउने भएको छ। कार्यालय रहेको स्थान सोलेमानेसहित चार स्थानबाट सेवा उपलब्ध गराउने निर्णय गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए। उनका अनुसार हालै बसेको वडा कार्यसमितिको बैठकले वडा कार्यालय रहेको स्थान सोलेमानेसहित हरेक महिनाको ५ गते सल्लेनडाँडा, १५ गते धोबीखोला र २५ गते डिठास्वाराबाट समेत एकीकृत सेवा उपलब्ध गराउन लागेको हो।

'अहिले सोलमानेमा रहेको वडा कार्यालयसहित कृषि र पशु विकासको सेवा शाखा कार्यालय, स्वास्थ्यचौकीसहितको सेवा अबदेखि अन्य तीन स्थानबाट सञ्चालन हुने एकीकृत घुम्ती शिविरमा उपलब्ध हुनेछ', उनले भने, 'शिविरमार्फत भौगोलिक विकटता र राज्यको सेवाको उपभोगमा  सहयोग पुग्ने विश्वास छ।'वडाको मध्यविन्दुमा वडा कार्यालय भए पनि भौगोलिकरूपमा विकट भएकाले सेवा लिन नागरिकको पहुँच र चासो कम भएको पाइएसँगै वडाको सेवा थप तीन स्थानमा विस्तार गर्नुपरेको वडा समितिको बैठकको निर्णयमा भनिएको छ।

Hardik ivf

महिनाको थप तीन स्थानमा सञ्चालन गरिने सेवामा वडा कार्यालयबाट उपलब्ध हुने सबै सेवासहित स्वास्थ्यचौकी, कृषि र पशु विकासको शाखा कार्यालयमार्फत प्रदान गरिने सेवासमेत उपलब्ध गराइने छ। घुम्ती शिविर सञ्चालनका लागि सल्लेनडाँडा र धोबीखोलामा घुम्ती सेवा केन्द्रको भवन बनाउन वडा कार्यालयले बजेटसमेत छुट्याएको छ भने डिठास्वारामा दातृ निकायको सहयोगमा निर्माण भइरहेको खोप केन्द्रको भवन प्रयोग गर्ने निर्णय भएको छ।

हालका लागि वडा कार्यालय र मातहतमा रहेका सेवालाई घुम्ती शिविरमार्फत प्रदान गर्न लागिएको छ भने आगामी दिन घुम्ती शिविरमा पालिकाको विभिन्न शाखाबाट प्रवाह गरिने सेवासहित ठूला स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविरलगायत सेवासमेत समावेश गरिने वडाध्यक्ष तामाङको भनाइ थियो। उनका अनुसार साविक लच्याङ गाविसअन्तर्गत रहेको वडा नं १ मा चार हजारभन्दा बढी जनसङ्ख्या छन् भने १४दशमलव चार वर्ग किलोमिटर क्षेत्र  छ। वडाभित्र बाहुन तथा क्षेत्री चार नेवार समुदाय आठ  दलित समुदाय छत्तीस घरधुरी छन् भने बाँकी सबै तामाङ र गुरुङ समुदायको बसोबास छ।  

'सडकको राम्रो पहुँच पुगेको छैन, शिक्षा र स्वास्थ्य चेतनाको स्तर वृद्धि गर्नुपर्ने छ', वडाध्यक्ष तामाङले भने, 'वडावासीको प्रमुख पेशा कृषि भए पनि त्यो परम्परगतबाट व्यावसायिकतर्फ अघि बढाउन नसक्दा आर्थिक अवस्था सुधार्न चुनौती छ।'

शिक्षा र स्वास्थ्यमा  सुधारसहित कृषिमा आधुनिकीकरण र  व्यावसायीककरणतर्फ अघि बढाउनका लागि  स्वरोजगार प्रवर्धनका साथै सडक र विद्युतीय सेवालाई गुणस्तरीय बनाउन एकीकृत घुम्ती सेवा शिविरले जागरुकता र जिम्मेवारी बढाउने अपेक्षा लिइएको वडासचिव दिनेश श्रेष्ठले बताए।

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्