प्रेस युनियनले सिफारिसमा परेका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने
काठमाडाैं, भदाै ३० : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ।प्रेस...
काठमाडाैं, भदाै ३० : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ।
प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया गरी युनियनकर्मीलाई संसदमा पठाउन पहल गर्ने बताएको हो।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसद्मा नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताउनुभयो। 'युनियनमा आबद्ध पत्रकारलाई संसद्मा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ,' उनले भने।
युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसदमा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताए। उनी तनहुँ–१ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिसमा परेका छन्।
युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसद्मा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने बताए। उनी सुनसरी-२ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्।
युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर-२ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस भएका छन्। युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन-२ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्वउपाध्यक्ष एवं नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुंगाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस भएकी छन्।
यस्तै युनियनका पूर्व सचिव सन्तोष न्यौपाने काठमाडौँ-६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस हुनुभएको छ भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका छन्।
यस्तै युनियनका नेता झपेन्द्रप्रसाद गैरे पाल्पाबाट प्रदेशसभा समानुपातिक उम्मेदवार, परमेश्वर साह सिरहाबाट, चित्रकुमार मिजार सिन्धुपाल्चोकबाट उम्मेदवारका लागि सिफारिस भएका छन्।
देशभरबाट ५० भन्दा बढी युनियनकर्मीलाई पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए। महासचिव पौडेलले उम्मेदवार सिफारिसमा परेका देशभरका पत्रकारको तथ्याङ्क सङ्कलन गरी उम्मेदवार बनाउन पहल गर्ने बताए।
युनियनका उपाध्यक्ष भीष्मराज ओझाले पार्टीले देशभरबाट उम्मेदवारका लागि सिफारिस गरेका युनियनमा आवद्ध पत्रकारलाई उम्मेदवार बनाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने बताउनुभयो। 'युनियनमा आबद्ध सबै पत्रकारलाई उम्मेदवार बनाउन नसके पनि दबाबस्वरुप केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउँछौ,' उनले भने।












