काभ्रेका दुई सहकारी संस्था मर्जर

काठमाडौं, भदौ २९ : पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
२०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् ।
स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिंङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । एशियाली ऋण महासंघ र नेफ्स्कुनको अनुगमन र नियमनमा सञ्चालित यि संस्थाहरु मध्ये सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।












