Kathmandu Press

धनकुटा जिमीगाउँकाे अमर प्राविमा अक्षयकोष स्थापना 

धनकुटा, भदौ २९ : धनकुटाको साँगुरीगढी गाउँपालिका-६ जिमीगाउँस्थित अमर प्राविमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको छ।बाल दिवसका अवसरमा आज (बुधबार) विद्यालयमा आयोजित एक...
धनकुटा जिमीगाउँकाे अमर प्राविमा अक्षयकोष स्थापना 
Hardik ivfHardik ivf

धनकुटा, भदौ २९ : धनकुटाको साँगुरीगढी गाउँपालिका-६ जिमीगाउँस्थित अमर प्राविमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हेतुले अक्षयकोष स्थापना गरिएको छ।

बाल दिवसका अवसरमा आज (बुधबार) विद्यालयमा आयोजित एक कार्यक्रमबीच अक्षयकोष स्थापनाको घोषणा गरिएको प्रधानाध्यापक वीरबहादुर लिम्बूले जानकारी दिए।

पूर्वविद्यार्थीले स्थापना गरेको ‘निःस्वार्थ समूह’को सक्रियतामा उक्त अक्षयकोष स्थापना गरिएको हो। समूहले ३० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेपछि त्यसैमा रकम थपेर अक्षयकोष स्थापनाको अभियान अघि बढाइएको उनले बताए।

‘पहिला यही पढेकी चित्रकुमारी राई धेरै बिरामी भएकी थिइन्। उनको उपचारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले निःस्वार्थ समूह बनेको थियो,’ प्रधानाध्यापक लिम्बूले भने, ‘सो समूहबाट संकलित रकमबाट उपचार हुँदै आए पनि बिरामीलाई बचाउन नसकेपछि बाँकी रकम ३० हजार अक्षयकोष स्थापनार्थ विद्यालयलाई प्राप्त भएको हो। त्यसैमा थपेर अक्षयकोष बनाउन लागिएकाे हाे। मृतक विद्यार्थीका अभिभावकले पनि यसमा सहयोग पुर्‍याउनुभएको छ।’ चित्रकुमारी स्नातक तहमा अध्ययनरत थिइन्।

विद्यालय, अभिभावक सबैले त्यसैमा रकम थपेर अक्षयकोषलाई ठुलो बनाउने, वार्षिक रूपमा प्राप्त ब्याजको ७० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने र ३० प्रतिशत रकम अक्षयकोषमै थप्दै लाने योजना रहेको प्रधानाध्यापक लिम्बूले जानकारी दिए।

कार्यक्रममा विद्यालयलाई विभिन्न तवरले सहयोग गर्ने व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापक, समाजसेवी तथा दाताहरूलाई पनि सम्मान गरिएको उनले बताए। प्रमुख अतिथि साँगुरीगढी-६ का वडाध्यक्ष प्रकाश मगर, अतिथिहरू विद्यालय निरीक्षक गंगाबहादुर कटुवाल, गाउँपालिका आर्थिक तथा पूर्वाधार विकास शाखाका बालकृष्ण राईले उनीहरूलाई सम्मान गरेका थिए।   

स्थापना कालदेखि नै विद्यालयको शैक्षिक उन्नयनमा अमूल्य योगदान दिँदै आएका समाजसेवी हर्कप्रसाद लामालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको प्रधानाध्यापक लिम्बूले जानकारी दिए। ग्रामीण जनता माविका पूर्वप्रधानाध्यापकसमेत रहेका लामालाई पूर्वविद्यार्थी इन्दु राईले बनाएको लामाकै स्केच पनि हस्तान्तरण गरिएको थियो। 

जग्गादाता शेरबहादुर राई र रामबहादुर राईलाई पनि दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो। राईद्वयले प्रदान गरेकै जग्गामा विद्यालय निर्माण भएको सोही विद्यालयमा अध्यापनरत शिक्षिका कल्पना मगरले जानकारी दिइन्।

कार्यक्रममा व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू हमकलाल राई, पूर्णबहादुर राई, उत्तरबहादुर राई र गंगाबहादुर राई तथा पूर्वप्रधानाध्यापकहरू अमरबहादुर राई, निशा राई र कल्पना मगरलाई पनि दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो।

विद्यालयलाई भौतिक सामग्री सहयोग गर्ने तुलबहादुर राईसहित उनको परिवारलाई पनि सम्मापत्र प्रदान गरियो। राई परिवारले विद्यालयलाई स्मार्ट टिभी प्रदान गरेको थियो।   

त्यसैगरी विद्यालय प्रांगणमा प्रतीक्षालय बनाइदिने स्थानीय तुलबहादुर राई, मणिराज राई र मिलन राईलाई पनि प्रशंसापत्रले सम्मान गरिएको छ। राईत्रयले स्वर्गीय पिता दलवीर राईको स्मरणमा विद्यलयमा प्रतीक्षालय बनाइदिएका हुन्।

सोही अवसरमा बेलुन फुटाउने खेल, कुर्सी दौड, बिस्कुट दौड प्रतियोगिताको आयोजना गरी पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। अभिभावकलाई पनि बोतलमा पानी भर्ने खेल खेलाई विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्