राष्ट्रिय बाल दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम

काठमाडाैं, भदाै २९ : ५८औं राष्ट्रिय बाल दिवस, बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउने गरेको छ। सन् १९९० सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसका रुपमा मनाउने गरिएको छ।
दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालअधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले बलात्कार र हत्याको संख्या बढ्दै गएको अवस्थामा सरकारमा रहने व्यक्तिका साथै अन्य सरोकारवाला लगाएत अभिभावक गम्भीर हुनुपर्ने बताए। उनले उमेर घटाएर मात्रै बालिकामाथि हुने हिंसाको अन्त्य हुन नसक्ने धारणा राखे। त्यस्तै मन्त्री रेग्मीले बाल सुधार गृहलाई पनि कारागार जस्तो नभई बालमैत्री बनाउनुपर्नेमा जोड दिए।
२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो। मुलुकको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ। तर बाल अधिकारको पहुँचको मुद्दाको भने बेलाबखतमा बहस हुने गरेको छ।
-1791022760.jpeg)




-1791022760.jpeg)





