वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता

काठमाडौं, भदौ २९ : सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा विमल रेग्मीलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था रहेको छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ।
सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गरेका हुन् । परिषद्को विज्ञ सदस्यमा डा रेग्मी नियुक्त भएका छन् ।
जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका र हाल उनले अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आएको बताइएको छ ।












