Kathmandu Press

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति भण्डारी

काठमाडाैं, भदाै २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताएकी छन।उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी...
उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति भण्डारी

काठमाडाैं, भदाै २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताएकी छन।

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उनले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए।

'यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु,' उनले भने। राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताए।

Hardik ivf

उनले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको  खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताए।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिए।

'यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ। अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ,' उनले भने, 'डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ।' नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाैं र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उनले बताए।

'यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ,' उनले भने।

उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पुर्‍याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए। उनले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताए। उनका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ।

उनले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताए। उनले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राखे। मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिए। उनले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताए।

एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पारे।
 
यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उनको भनाइ छ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिए।

आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ।

विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ।

सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनेछन।

‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ।

विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्