Kathmandu Press

प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे

प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती, भदाै २८ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौँडाको हटियामा निर्माण गरिने बताएका छन।

हेटौँडामा आज आयोजित पत्रकार सम्मेलनमा  मुख्यमन्त्री पाण्डेले हेटौँडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालय र संसद् भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको जानकारी दिए। 'हटियामा ५५ बिघा क्षेत्रफल भएको सरकारी जमिन छ त्यही जग्गामा प्रदेश कार्यालय बनाउने तयारी थाल्दै छौँ,' उनले भने।

मुख्यमन्त्री पाण्डेले एकै स्थानमा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालय र संसद् भवन पनि निर्माण गर्ने तयारीका साथ काम अगाडि बढेको बताए। प्रशस्त जमिन भएकाले उक्त स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि आवश्यक पर्ने कार्यालय तथा आवश्यकताअनुसार अन्य कार्यालय पनि निर्माण गर्न सहज हुने उनको भनाइ थियो । जग्गा प्राप्तिका लागि सङ्घीय सरकारसँग काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए।

कार्यालय निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब पाँच करोड बजेट छुट्याइएको पाण्डेले जानकारी दिए। 'यो बजेट पर्याप्त होइन तै पनि काम सुरु गर्नका लागि यो बजेटले सहज हुन्छ । ठेक्कामार्फत काम गर्ने तयारीमा छौँ,' मुख्यमन्त्री पाण्डेले भने।

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, भदौ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्