Kathmandu Press

सिञ्जाका तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना

सिञ्जाका तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना
Hardik ivfHardik ivf

जुम्ला, भदाै १८ : जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन्। यहाँका नागरिक उपचार गर्नका लागि जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँलगायत देशका ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो। अहिले जिल्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएपछि उपचारमा केही सहज भएको स्थानीयवासी बताउँछन्।

आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिँदै गएका छन्। सिञ्जा भेगमा रहेका हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका सरमुकाम खलङ्गाबाट निकै टाढा छन्। हिमा गाउँपालिकालाई हिमालय आँखा अस्पतालले स्वास्थ्य सामग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरेको छ। आँखा उपचार केन्द्रका लागि चाहिने मेसिनलगायत सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।

पालिकास्तरीय आँखा उपचार केन्द्र सञ्चालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्ने छ। धुलो धुँवाका कारण गाउँमा आँखाका बिरामी बर्सेनि बढ्दै गर्छन्। 'शिविर सञ्चालन गर्दा भीड हुने, टाढा गएर उपचार गराउन आर्थिकले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो,' अध्यक्ष शाहीले बताए।

कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्यचौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिञ्जा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले जानकारी दिए। सिञ्जा गाउँपालिकाले पनि नराकोटमा गत वर्षदेखि आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ। सो गाउँपालिकाले पनि नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो। आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ। नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, भदौ १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्