Kathmandu Press

त्रिशुली रिभरसाइडको साइकलिङ र जिपलाइनले पायो पर्यटन विभागबाट मान्यता 

त्रिशुली रिभरसाइडको साइकलिङ र जिपलाइनले पायो पर्यटन विभागबाट मान्यता 

काठमाडौं, भदौ १५  : धादिङको रिभरसाइड स्पा एण्ड रिट्रिट प्रा।लि द्वारा सञ्चालित त्रिशुली रिभरसाइड रिसोर्टमा रहेको स्काइरोप साइकलिङ र जिपलाइनले पर्यटन विभागबाट मान्यता प्राप्त गरेको छ ।

हालसालै रिसोर्टले जिपलाइन र स्काइरोप साइकलिङको इजाजतपत्र (लाइसेन्स) पाएको रिसार्टका सञ्चालक उद्धव कँडेलले जानकारी दिए । यस अगाडि पर्यटन बिभागको निरीक्षण भ्रमण पछाडी पर्यटकहरुलाई सेवा दिँदै आएको कँडेलले जानकारी दिए । ‘एक दशकभन्दा लामो समयदेखि र्याफ्टिङ, क्यानोइङ, कायाकिङ सञ्चालन गर्दै आएका थियौँ ।

पछि जिपलाइन र स्काइरोप साइक्लिङ पनि सुरु गर्‍यौँ,’ कँडेल भन्छन् ‘नदी माथी नै स्काइरोप साइकलिङ गर्न मिल्ने यो नै नेपालको पहिलो स्काइरोप साइकलिङ हो । सञ्चालनमा आएको केही समयमै यी दुई साहसिक खेल हाम्रो रिसोर्टमा सञ्चालन गर्न पर्यटन विभागबाट इजाजतपत्र पाइसकेका छौँ ।’काठमाडौँबाट ७० किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको यस रिसोर्टको स्काइरोप साइक्लिङमा २ वटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जना खेल्न मिल्छ भने अर्कोमा जोडी नै एकैसाथ खेल्न मिल्ने व्यवस्था गरिएको छ ।

दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति सात सय रुपैयाँ र फोटो भिडियोको लागि थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए । रिसोर्टमा जिपलाइन पनि नदी पार गर्ने गरी नै बनाइएको छ । रिसोर्ट परिसरबाट जिपलाइन नदी पारी तर्फ ल्यान्डिङ हुन्छ । दुई सय मिटर लामो जिपलाइन खेल्न एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन पाँच सय लाग्ने कँडेलले बताए ।

जिपलाइन गरेर नदी पार गर्ने पर्यटक स्काइ साइक्लिङ गरेर फर्कन सक्छन् । यो कम्बो प्याकेज बुकिङ गर्नेले विशेष छुट समेत पाउने उनी बताउँछन् । जिपलाइन र स्काइरोप साइक्लिङको लागत करिब २ करोड रहेको र आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै जाने उनी बताउँछन् ।

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्