शे-फोक्सुण्डोका दुई वटा हिमचितुवामा भू-उपग्रह
काठमाडौं, मंसिर १५ : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुइटा हिमचितुवामा भू–उपग्रह जडान गरिएको छ। अब दुवै हिमचितुवाको नियमित अनुमगन गर्न स....

काठमाडौं, मंसिर १५ : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुइटा हिमचितुवामा भू–उपग्रह जडान गरिएको छ। अब दुवै हिमचितुवाको नियमित अनुमगन गर्न सकिनेछ।
समुन्द्री सतहबाट चार हजार एक सय ७१ मिटरको उचाईमा भेटिएको जेबोरोङ्गको घाँटीमा पहिलो पटक भू–उपग्रह जडान गरिएको हो। स्थानीय हिमचितुवा संरक्षण समितिले हिमचितुवालाई जेबोरोङ्ग नाम दिएको हो। यसको तौल ३८ किलोग्राम रहेको छ।
त्यस्तै, स्याम्पिङको घाँटीमा पनि भू–उपग्रह जडान गरिएको छ। दोस्रो हिमचितुवालाई स्थानीय वासिन्दाले स्याम्पिङ नाम दिएका हुन्। यो नाम डोल्पाको सबैभन्दा पुरानो स्याम्लिङ् गुम्बाको नामबाट राखिएको हो।
स्याम्लिङलाई समुन्द्री सतहबाट चार हजार एक सय ७१ मिटरको उचाईमा समातिएको थियो। यसको तौल ३३ किलोग्राम रहेको छ।
दुवै वयस्क भाले हिमचितुवा हुन। उनीहरुलाई निकुञ्ज भित्रै समातिएको थियो भने भू–उपग्रह जडान गरेर एक घन्टाभित्रै छोडिएको डब्लूडब्लूएफ नेपालले जनाएको छ। दुवै हिमचितुवामा गत साता भू–उपग्रह जडान गरिएको हो।
डोल्पामा सबैभन्दा बढी हिमचितुवाको रहेको उल्लेख गर्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले भूउपग्रह जडानले यसको संरक्षणमा मद्दत पुग्ने बताए।
त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईले भूउपग्रहबाट प्राप्त तथ्याङ्क यस भू–परिधिमा रहेका हिमचितुवाको स्थान–विशेष पर्यावरणबारे बुझ्नका लागि महत्वपुर्ण हुने बताए।
पश्चिम पहाड भू–परिधिमा वन्यजन्तु जीवविज्ञ डा.रड्नी ज्याक्सनले सन् १९८० को दशकमा हिमचितुवाको बानी–व्यहोराबारे जानकारी लिनका लागि ‘बैज्ञानिक रेडियो कलर अभियान’ सञ्चालन गरेका थिए। त्यसयता अहिले ‘भू–उपग्रह टेलिमेट्री अभियान’ सञ्चालन भएको हो।
चार दशकपछि संचालन भएको यो कार्यबाठ प्राप्त हुने सूचनाले हिमचितुवाको हिँडडुलको तरिका, वासस्थानको प्रयोग र प्राथमिकता, पश्चिमी हिमालयमा यस प्रजातिको आवास–क्षेत्रबारे जानकारी प्रदान गर्ने, जसका माध्यमबाट भविष्यमा संरक्षणका लागि महत्वपूर्ण वासस्थान र जैविकमार्ग पहिचानका साथै अन्तर्देशीय वासस्थान र जलवायु उत्थानशील वासस्थान पहिचान गर्न मद्दत पुग्ने संरक्षणविद्हरूले जनाएका छन्।
डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङ्गले भू–उपग्रह जडानबाट प्राप्त सूचना हिउँचितुवाको वासस्थानमा पूर्वाधार विकासले पारेका प्रभावहरू, मानव–हिमचितुवाबीचको सम्बन्ध र न्यूनीकरण उपायहरु पहिचान गर्न महत्वपूर्ण हुने बताए।
नेपाल सरकारको नेतृत्वमा सञ्चालन भएको यस अभियानमा डब्लूडब्लूएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय हिमचितुवा संरक्षण समितिका नागरिक वैज्ञानिकको साझेदारी रहेको थियो। यसका लागि डब्लूडब्लूएफ–युके, डब्लूडब्लूएफ बेल्जियम, डब्लूडब्लूएफ क्यानडा र डब्लूडब्लूएफ अष्ट्रेलियाले यसका लागि आर्थिक सहयोग प्रदान गरेका थिए।











