माथिल्लो त्रिशूली–३ ‘बी’ को निर्माण शुरु
काठमाडौं, माघ २७ : माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण र नेपाल....

काठमाडौं, माघ २७ : माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाको निर्माण शुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको आयोजनाको आईतबार शिलान्यास गरिएको छ । ठेक्का सम्झौता भएको एक वर्षपछि निर्माण सुरु भएको हो ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २०७४ माघ २९ मा एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनाको शिलान्यास गर्दै निर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
तीन वर्ष निर्माण अवधि रहेको आयोजनाको काम २०७७ फागनु २९ भित्र सक्ने लक्ष्य रहेको छ ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ ।
अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी अर्थात दुई अर्ब ४७ करोड र ७० प्रतिशत ऋण पाँच अर्ब ७६ करोड रुपैयाँ छ ।
आयोजनामा नबिल बैकको अगुवाइमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी भएको छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच २०७५ भदौ ४ गते ऋण सम्झौता भइसकेको छ ।











-1754206481.jpg)