Kathmandu Press

सानैमा बिहे र बच्चा, अहिले पछुतो

सल्यान, कपुरकोटकी मिना बिक केही महिनाअघि दुई वर्षको छोरा च्यापेर काठमाडौं आइन् । श्रीमान अर्को बिहे गरी काठमाडौं पुगेको थाहा पाएपछि उनी पनि यतै आएकी हुन् । त....

सानैमा बिहे र बच्चा, अहिले पछुतो
रिवाज राई

सल्यान, कपुरकोटकी मिना बिक केही महिनाअघि दुई वर्षको छोरा च्यापेर काठमाडौं आइन् । श्रीमान अर्को बिहे गरी काठमाडौं पुगेको थाहा पाएपछि उनी पनि यतै आएकी हुन् । तर, उनले अझैसम्म श्रीमान् भेटेकी छैनन् । गुजाराका लागि उनी अहिले गोदावरीको बज्र इँटा उद्योगमा काम गर्छिन् ।

उले १५ वर्षकै उमेरमा सल्यानकै २२ वर्षीय चन्द्र बिकसंग भागी बिहे गरेकी थिइन् । बिहे गरेको एक वर्षमै उनको छोरा जन्मियो । र, छोरा जन्मेको एक वर्ष नबित्दै उनका श्रीमान अर्को बिहे गरी बेपत्ता भए । 

उनी भन्छिन्, ‘गाउँलेहरूबाट थाहा पाएँ, श्रीमान् काठमाडौंतिर छन् । म गाउँमा एक्लै बस्न सकिनँ । त्यहीँ भएर यता आएँ ।’

Hardik ivf

काठमाडौंमा श्रीमान् फेला परेन । जुन ठाउँमा श्रीमान् छ भन्ने जानकारीको आधारमा उनी यता आएकी थिइन्, त्यहाँ श्रीमान रहेनछन् । बा–आमाको कुरा नसुनी भागेर गएकी उनलाई छोरा बोक्दै माइतीघर जान मन थिएन । यसैले, उनी अहिले एक्लै इँटा भट्टामा काम गरी छोरा पाल्दैछन् ।

अहिले १८ वर्ष पुगेकी मिनालाई सानो उमेरमा बिहे गरेको र आमा भएकोमा निकै पछुतो लागेको छ । उनीसँग न बिहे दर्ता छ, न छोराको जन्मदर्ता नै । हुर्किदै गएको छोराको जन्मदर्ता नहुँदा पढाउन पनि समस्या हुने देखिन्छ । 

अहिले उनी काममा जाँदा उनका २ वर्षका छोरा दिनभर माटोमा खेल्छन् । दिनभर इँटा बोकी कमाएको पैसाले साँझ बिहान खान बस्न ठिक्क हुन्छ । 

सल्यानकै गीता ओली (तस्वीर माथि)ले पनि १६ वर्षकै उमेरमा रोल्पाका देवराज मगरसँग बिहे गरिन् । तर, उनको सम्बन्ध २ वर्ष पनि टिकेन । उनले भने बाध्यताले सानैमा बिहे गरेकी हुन् । 

बुवाले अर्को बिहे गरे । घरमा ६ भाइबहिनी थिए । सबैलाई राम्रोसँग खान पुग्दैन थियो । 

‘मैले बिहे गर्दा मैले खाने खाना भाइबहिनीले खालान्, मैले लगाउने लुगा बहिनीले लगाउँलान् भन्दै सानैमा बिहे गरेँ, तर अहिले आफैलाई समस्या भयो,” उनी भन्छिन् । बिहे गरेकै भोलिपल्ट देखि श्रीमान्ले रक्सी खाएर कुटपिट गर्न थाले । उनको शरीरमा अहिले पनि निलडाम छन् । 

सानो कुरामा रिसाउँने, गाउँका अरु मान्छेसँग बोल्दा पनि आँखा लगाउँने श्रीमानले बिहे गरेको २ वर्षपछि अर्की श्रीमती लिई भारत गए । अहिले उनी माइतीघरमै बसेर ज्यालादारी काम गर्दै भाइबहिनी र आमालाई पाल्दै आएकी छिन् ।

गीता र मिना जस्ता सानै उमेरमा विहे गरेका किशोरीहरु अहिले विभिन्न आर्थिक, शारीरिक र मानसिक समस्यामा छन् । 

नेपालको संविधानले बालविवाहलाई दण्डनीय मानेको छ । २० वर्ष नपुगी बिहे गर्न पाइँदैन । तर, अहिलेका केटाकेटी सानै उमेरमा परिपक्व र एकअर्काप्रति आकर्षित हुने भएकाले उमेरै नपुगी भागेर बिहे गर्ने चलन बढ्दो छ । गरीबी र अशिक्षाले पनि बालविवाह बढाइरहेको छ । 

यूनिसेफका अनुसार नेपाल दक्षिण एसियामै सबैभन्दा बढी बालविवाह हुने तेस्रो मुलुक हो । यहाँ ४१ प्रतिशत बालबालिका उमेर नपुगी नै बिहे गर्छन् । 

बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतो उमेर नपुगी बिहे गर्दा पारिवारिक तनाव र वैवाहिक बलात्कारजस्ता घटना बढेको बताउँछन् । 
उनी भन्छन्, ‘सानै उमेरमा बिहे गर्दा राम्रो र नराम्रो छुट्याउँन सकिन्न । पारिवारिक कलह सुरु हुन्छ । प्रजनन् अङ्ग परिपक्व नभइसकेकोले महिलामा अनेकौ समस्याहरू आउँछन् ।’
 

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्