Kathmandu Press

रंगमञ्चमा किन हुँदैनन् गाईजात्रा कार्यक्रम?

रिपोर्टर्स क्लब नेपालले पनि केही हास्य कलाकार भेला पारेर गरेको गाईजात्रा विशेष साक्षात्कारले रंगमञ्चमा भइरहेकाे कार्यक्रम अभावले निम्त्याएकाे शून्यतालाई अलिकति भए पनि चिर्ने प्रयास गरेको छ।
रंगमञ्चमा किन हुँदैनन् गाईजात्रा कार्यक्रम?

काठमाडाैं, साउन २७ : दुई-तीन वर्षअघिको समय यस्तो थियो, हास्य कलाकारहरू गाईजात्रामा कार्यक्रम गर्न झन्डै एक महिनाअगावै तयारीमा जुट्थे। गाईजात्राको अघिपछि एक साताजति सार्वजनिक स्थलमा बनाइएका स्टेजदेखि प्रज्ञा भवन, राष्ट्रिय सभागृहलगायत हलहरूमा कार्यक्रम गर्न उनीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो।

सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिकलगायत विभिन्न क्षेत्रमा देखापरेका विकृति–विसंगतिविरुद्ध चाेटिलाे व्यंग्य प्रहार गरेर दर्शकलाई हँसाउने मात्र नभई भ्रष्टाचार, व्यभिचार, कुशासन, अनियमिततामा संलग्नहरूलाई कडा शब्दबाण हाने सचेत तुल्याउन उनीहरू तल्लीन हुन्थे। त्यतिबेला गाईजात्राका अवसरमा कहाँकहाँ केके कार्यक्रम हुन लागेका छन् वा भइरहेका छन् भनेर चारैतिर हल्लीखल्ली हुने गर्थ्याे। मानिसहरू उमंगित भएर कार्यक्रम हेर्न जान्थे।

यसपालि गाईजात्राका लागि हास्य कलाकारहरूले रंगमञ्चीय कार्यक्रम गर्न खासै रुचि देखाएनन्। जसका कारण गाईजात्राका अवसरका गरिने हास्यव्यंग्यात्मक कार्यक्रमको रौनक हराएको अनुभूति जनमानसलाई भएकाे छ। पछिल्लो समय प्रशस्त हास्य कलाकार थपिएका छन्। पुराना कलाकारहरू पनि कुनै न कुनै तरिकाबाट कलाकारितामा सक्रिय नै छन्। तर आफूहरूले सबैभन्दा महत्व दिँदै आएको गाईजात्रालाई यसपालि ती कलाकारहरूले किन महत्व दिएनन्, उनीहरूले रंगमञ्चमा कार्यक्रम किन गरेनन्, उनीहरू सेलाउनुकाे खास कारण के हाे भन्ने प्रश्न सघन रूपमा उठेको पाइन्छ।

Hardik ivf

त्यसो त पछिल्लो दुई वर्षको अवधि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमणका कारण सबैजसो क्षेत्र अस्तव्यस्त बन्याे। त्यसले कलाकारिता क्षेत्रलाई पनि नराम्रोसँग प्रभावित बनायो। यसकाे महसुस कलाकार मात्र नभएर अरू क्षेत्रका मानिसले पनि गरे।

कोरोनाले आतंकित बनाइरहँदा समेत मनोज गजुरेल, सुबोध गौतम, राजा राजेन्द्र, सुमन कार्कीलगायत केही कलाकारले स्वास्थका मापदण्ड अपनाएर आफूआफू भेला भई आवश्यक तयारी गरेर दर्शकलाई घरघरमा मनोरञ्जन दिने हेतुले २०७६ र २०७७ सालमा ‘डिजिटल गाईजात्रा’ गरेर गाईजात्रा कार्यक्रमकाे अभावलाई टार्न नखोजेका होइनन् तर यसपालि परिस्थिति केही सामान्य बन्दा र निषेधाज्ञाकाे अवस्था नरहँदा पनि गाईजात्राको अवसरमा हास्य कलाकार रंगमञ्चमा कार्यक्रम गर्न नउत्रिँदा दर्शकले सुनसान महसुस गरेका छन्।

त्यसो त अहिले टेलिभिजन सञ्चालनमा रहेको र हरेकमा हांस्यव्यंग्यसम्बन्धी कार्यक्रम निरन्तर चलिरहने हुँदा सबैजसो कलाकार व्यस्त भएकाले गाईजात्रे कार्यक्रमतिर ध्यान नगएको बताउने पनि गरिन्छ। कतिपय युट्युब च्यानलमा पनि ‘स्ट्यान्ड अप कमेडी’सँगै अन्य प्रहसनमूलक हांस्यव्यंग्यात्मक कार्यक्रम सञ्चालन हुने भएका कारण पनि कलाकारहरूले गाईजात्राका अवसरका हुँदै आएका परम्परागत कार्यक्रममा चासो नदिएको भन्ने तर्क पनि सुन्न पाइन्छ। तथापि गाईजात्राका अवसरमा आम दर्शकले प्रत्यक्ष रूपमा गरिने हांस्यव्यंग्यात्मक कार्यक्रमको अपेक्षा गर्नु, त्याे पूरा नहुँदा अभाव अनुभव गर्नु अस्वाभाविक भने होइन। 

यस्तै अवस्थाबीच आज (शुक्रबार) देखि वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले तीन दिनसम्म लगातार नेपाली समयअनुसार साँझ ६ः३० बजेदेखि कान्तिपुर टिभीबाट २०७९ सालको गाईजात्रा प्रसारण गरेकाे हुँदा आम दर्शकले राहतको अनुभूति गर्न पाउने भएका छन्। टिभी हेर्न नभ्याउने दर्शकका लागि युट्युबमा गई गजुरियल च्यानलबाट तीन दिन साँझ ७ बजे उपलब्ध साे कार्यक्रम उपलब्ध हुने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। 

कलाकार गजुरेलले काठमाडौं प्रेससँगको कुराकानीमा पछिल्लो समययता गाईजात्राको अवसरमा रंगमञ्चमा हुने हास्यव्यंग्यात्मक कार्यक्रममा निकै कमी आएकाे स्वीकार गरे। विगत दुईअढाइ वर्षमा त्यस्ता कार्यक्रम नहुनुमा कोरोना महामारीको हात भए पनि यसपालि अलिकति सहज परिस्थिति हुँदा पनि त्यस्ता कार्यक्रम हुन नसक्नुका पछाडि कलाकारको व्यस्तता नै प्रमुख कारण भएको उनले बताए।

‘कलाकारहरू काठमाडौंका, उपत्यकाबाहिरका, विदेशका विभिन्न कार्यक्रममा व्यस्त भइरहँदा रंगमञ्चको कार्यक्रम हुन नसकेको हाे। त्यस्तो अभावलाई टार्न हामीले आजदेखि कान्तिपुर टेलिभिजन र गजुरियल युट्युब च्यानलबाट तीन दिन लगातार गाईजात्रा-२०७९ कार्यक्रम प्रस्तुत गर्दैछौं,’ उनले भने।

उनले गाईजात्राका अवसरमा हुँदै आएका रंगमञ्चीय कार्यक्रमहरूले ‘रिफर्मेसन’ खोजिरहेको हुन सक्ने धारणा राखे। ‘परम्परागत रूपमा हुँदै आएका गाईजात्राका रंगमञ्चीय कार्यक्रमहरूले सायद रिफर्मेसन खोजिरहेको हो कि भन्ने मलाई लाग्छ,’ उनले भने, ‘बदलिँदो परिस्थितिसँगै दर्शकहरूले त्यस्ता कार्यक्रममा नयाँपन खोज्ने हुनाले त्यतातिर पनि ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।’         

रिपोर्टर्स क्लब नेपालले पनि केही हास्य कलाकार भेला पारेर गरेको गाईजात्रा विशेष साक्षात्कारले रंगमञ्चमा भइरहेकाे कार्यक्रम अभावले निम्त्याएकाे शून्यतालाई अलिकति भए पनि चिर्ने प्रयास गरेको छ। सो अवसरमा उनीहरुले मुलुकको वर्तमान अवस्थाबारे चर्चा गर्दै नेताका कमजोरीहरुप्रति व्यङ्ग्य प्रहार गरेका छन्।

हास्यकलाकार शैलेन्द्र सिम्खडाले पछिल्लो समय नेताहरुले जनता हसाउन र कलाकारहरू पार्टीमा हाम फाल्न थालेको भनेर टिप्पणी गरे। उनले देश सिंगापुरजस्तो भए हास्यव्यंग्य गर्न नपाइने भन्दै ठट्टा गरे। आफूहरुको प्रस्तुतिमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनको अपेक्षा छ। 

त्यस्तै चर्चित हास्यकलाकार किरण केसीले देशमा जति आन्दोलन भए पनि जनताको अवस्था पुरानै छ भन्दै नेताहरुप्रति व्यंग्य गरे। त्यसैगरी अर्का कलाकार जितु नेपालले अर्थ मन्त्रालयको सिसी क्यामराले फुटेज लुकाएको भन्दै राजनीतिप्रति व्यंग्यको झटारो हाने। उनले शतप्रतिशत बोलेको पुर्‍याउने एक मात्र नेता केशव स्थापित आज विस्थापित भएको भन्दै व्यंग्य गरे।

अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र हुरीबतास आए कहाँ पानी पर्छ?’ बोलको कवितामार्फत सरकारप्रति व्यंग्य गरे भने हस्यकलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्षमाथिका नेताहरुलाई उम्मेदवारी नदिन व्यंग्यात्मक पाराले आग्रह गरे। 

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर आरम्भ भएको छ। यस अवधिमा लामाे समयदेखि व्यंग्यात्मक कार्यक्रम हुँदै आएकाे इतिहास छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीको मनलाई शान्त पार्न जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएका थिए। त्यसो गर्दा पनि रानीको हालत नसुध्रिएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएअनुरूप हास्यव्यंग्य गर्ने चलन सुरू भएको हो भन्ने जनश्रुति पाइन्छ। सोही आधारमा यस पर्वका क्रममा प्रहसन र सामाजिक विकृतिप्रति व्यंग्य गर्ने प्रचलन कायम भएकाे हाे।

यसैक्रममा पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कु’पछि गाईजात्रामा त्यसलाई प्रतिबन्ध लगाइयो। २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन्।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउने र निरर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। २०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि गाईजात्राका अवसरमा अझ खुलेर समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्ने चलन बढेको हो।

सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ। पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गर्ने चलन पनि बिस्तारै हराउन थालेको छ।

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्