सिर्जनशील पोखराले वि.पी र टैगोरलाई यसरी सम्झिए

कास्की, साउन २४ : प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक अनि प्रयोक्ता थिए, विश्वेश्वरप्रसाद कोइराला । कोइरालाले उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन र आयाम दिए । नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउने पहिलो आख्यानकार समेत थिए । विपी नेपाली र हिन्दी भाषाका विशिष्ट साहित्यकार थिए । नयाँ परम्परा र शैलीकै कारण साहित्य क्षेत्रमा विपी सदा अमर छन् ।
टैगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक हुन् । भारतीय साहित्य क्षेत्रमा एकमात्र नोबेल पुरस्कार विजेता हुन् टैगोर । भारतीय सांस्कृतिक चेतनाका एक युगद्रष्टा थिए उनी । वहाँ एसियाका प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति हुन् । भाषा साहित्यमा ‘भारती’ पत्रिकाको सम्पादन र बालबालिकाका निम्ति ‘बालपत्रिका’ को संपादनसमेत गरेका थिए । यसर्थ टैगोरलाई पत्रकारका रुपमा पनि हेर्न सकिन्छ । रवीन्द्रनाथ कवि तथा गीतकार मात्र होइन संगीतकार पनि थिए ।
यी दुई महान स्रष्टा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा एक साथ एकै मञ्चमा सम्झिए । सिर्जनशिलको आयोजनामा गत साता पोखरामा साहित्यानुरागी स्रष्टाको एउटा जमघट भयो । सुन्दर साँस्कृतिक नगरी पोखराको जमघट । प्रतिष्ठानका उपाध्यक्ष सुलोचना खनालको संयोजन र प्रतिष्ठानका सचिव डा.टीकाराम आचार्य आरुणिको सञ्चालन । सिमित तर ओजपूर्ण उपस्थिति । स्रष्टाहरुको विशेष उपस्थितिले साँच्चै सोचे भन्दा फरक उल्लासमय बन्न पुग्यो कार्यक्रम ।
वि.पी कोइराला र रवीन्द्रनाथ टैगोरको संझना स्वरुप साहित्यकार एवम् सर्जकहरुले आआफ्फ्ना विचार मन्थन गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष दीपेन्द्र पराजुलीले दुबै दार्शनिक व्यक्तिहरुका राष्ट्र, राष्ट्रियता र साहित्यसँग सम्बन्धित अवधारणाबारे तुलनात्मक प्रस्तुति गरे । कोइराला र टैगोरबारे पराजुलीले ‘राष्ट्र, राष्ट्रवाद र साहित्यका कुरा’ शीर्षकको छलफलपत्र प्रस्तुत गर्दै उनीहरुबिचमा रहेका समानता र भिन्नतामाथि विहङगम समिक्षा गरेका थिए ।
‘राजनैतिक अभिष्ट पूरा गर्दा निस्कने निषेधात्मक एकल राष्ट्रवाद र साझा पहिचानमा आधारित सँगै प्रगति गरौँ भन्ने राष्ट्रवाद एकै सिक्काका दुई पाटा हुन्’, पराजुलीको तर्क थियो, ‘तिनको व्यावहारिक प्रयोग विपी र टैगोरले गरे । विवेकपूर्ण तरिकाबाट मानवीय मूल्यको निरुपण गर्ने दुई भूगोलका राजनीतिज्ञले एकल पहिचानको विरोध गरिरहे र मानवीय मूल्यमा आधारित साझा राष्ट्रवादको अवधारणालाई पोषण दिइरहे ।’
प्रविधिको विकास नभएका समयमा पनि मानवताको गहिरो विचार वकालत गर्न सकेकोबताउँदै पराजुलीले भने, ‘टैगोर र कोइरालाहरु अहिलेको जस्तो भूमण्डलीकरणको युगमा जन्मिएको भए उनीहरुको राष्ट्रवाद अझै विश्वव्यापी र परिष्कृत हुने सम्भावना रहन्थ्यो ।’ विपी र टैगोरको बिषयमा प्रश्तुत छलफलपत्रमाथि टीप्पणी गर्दै डा.भानु कँडेलले अनेकतामा एकता नै राष्ट्रवादको मूल मर्म रहेको र त्यसलाई विपीले सुम्निमा उपन्यासका माध्यमबाट गम्भीर रुपमा खुलाएको विचार राखे ।
विपी माटोलाई माया गर्ने सच्चा राष्ट्रभक्त रहेको टिप्पणी डा.कँडेलको थियो । देशको भाषाले राष्ट्रियता बोक्ने हँदा बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा द्वन्द्व नहुनका लागि सबै नागरिकहरुमा अपनत्वको भावना हुनुपर्ने विचार उनको थियने । पराजुलीको कार्यपत्रमा कोइराला राष्ट्रवादी भए पनि उग्र तरिकाको स्वदेशी आन्दोलको विपक्षमा रहेको र टैगोर मानवताका कसीबाट राष्ट्रलाई हेर्नुपर्छ भन्ने मानववादी विचारक रहेको अवधारणा रहेको भनाई उनको थियो । पराजुलीको ‘राष्ट्र, राष्ट्रवाद र साहित्यका कुरा’ कार्यपत्रमा डा.सवीन्द्रराज भण्डारी, डा.वासुदेव भण्डारी, सुरज पौडेल, तारा पाखे लगायतका वक्ताहरुले पनि आफ्ना धारणा राखे ।
कार्यक्रममा श्रोताहरुको तर्फबाट जिज्ञासा प्रस्तुत गर्दै विष्णुप्रसाद शर्माले प्राविधिक पक्ष मिलाउन, डा.लक्ष्मीशरण अधिकारीले दुबैका समन्वयात्मक विचारलाई स्थान दिन, टंकराज बरालले फरक विचारलाई पनि राष्ट्रवादले सहर्ष स्वीकार गर्नु पर्ने विचार थप गर्न, डा. यामबहादुर पौडेल क्षत्रीले भारतका राज्यलाई अंग्रेजहरुले एकीकरण गरेको र राष्ट्रियता साझा विचार भएको कुरा थप गर्नका लागि सुझाए । कार्यक्रमको सभापतित्व गरेका संस्थाका अध्यक्ष योगराज पौडेलले विपी र टैगोरका पात्र र प्रवृत्तीबारे प्रकास पारे । ‘विपीका पात्र मनोविज्ञानबाट परिचालित रहेका छन् भने टैगोरका पात्र सांस्कृतिक अपहेलनको पीडाबाट परिचालित छन्,’ पौडेलले भने।











