हङ्कङमा प्रजातन्त्र समर्थक समूहको दबदबा
बीबीसी, मंसिर ९ : हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको छ । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २ सय ४१ स्थ....

बीबीसी, मंसिर ९ : हङ्कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको छ । विपक्षी आन्दोलनका सदस्यहरूले घोषित २ सय ४१ स्थान मध्ये २ सय १ स्थानमा विजय हासिल गरेको साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रले जनाएको छ।
बेइजिङ समर्थक उम्मेदवारले २८ स्थानमा मात्र जितेका छन् । चुनावमा २९ लाख मतदाता सहभागी थिए । त्यसको अर्थ ७१ प्रतिशत मतदाता मत हाल्न आएका थिए। जबकि सन् २०१५ को चुनावमा ४७ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो चुनावलाई सङ्कटमा परेकी हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षाको रूपमा समेत हेरिएको थियो । चुनावमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी समूहहरूले पाँच महिनासम्मको तनाव र प्रदर्शनपछि चिनियाँ सरकारलाई स्पष्ट सन्देश दिन चाहेको देखिएको छ।
बेइजिङ पक्षधर उम्मेदवारहरूले पाँच महिनादेखि चलिरहेका प्रहरी र प्रदर्शनकारी झडपप्रतिको असन्तुष्टि पोख्न आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। हङ्कङमा बसोबास गर्ने ७४ लाख जनसङ्ख्या मध्ये ४१ लाख मतदाता नामावालीमा समावेश थिए। पछिल्ला खबरअनुसार बेइजिङ पक्षधर र विवादास्पद छवि भएका सांसद जुनिअस हो अनपेक्षित रूपमा पराजित हुन पुगेका छन् । उनलाई यसै महिनाको सुरुतिर एक नक्कली समर्थकले छुरा प्रहार गरेका थिए।
उनले खुल्लमखुल्ला हङ्कङ प्रहरीको समर्थन गरेका थिए। हङ्कङमा प्रदर्शनहरूको आयोजना गर्दै आएको समूह नागरिक मानव अधिकार मोर्चाका नेता जिम्मी शामले पनि जित हासिल गरेका छन्। शामलाई हालै दुई पटक आक्रमण गरिएको थियो। प्रजातन्त्र समर्थक अभियानकर्ता जोशुवा वोङलाई चुनाव लड्न दिइएन। आफूलाई राजनीतिक रूपमा प्रतिबन्धित गरिएपनि उनको स्थानमा उठेका प्रजातन्त्रवादी उम्मेदवार पनि विजयी भएको बताइएको छ।
चुनावमा हार भोगेकी बेइजिङ समर्थक सांसद एलिस माकले पराजयको आंशिक दोष कार्यकारी प्रमुख लामको शासन शैलीलाई दिइन्। तर शहरको सबैभन्दा ठूलो बेइजिङ पक्षधर दलकी सहअध्यक्ष स्टारी लि वाइकिङले आफ्नो स्थान सुरक्षित गरेकी छन्। हङ्कङको चुनावी व्यवस्था अनुसार ११७ जना जिल्ला पार्षदहरू पनि कार्यकारी प्रमुख चुन्ने १,२०० सदस्यीय समितिमा रहनेछन्।












