Kathmandu Press

पहिराले अवरुद्ध बेनी–मालढुङ्गा सडक खुल्यो

पहिराले अवरुद्ध बेनी–मालढुङ्गा सडक खुल्यो

गलेश्वर, साउन १७ : सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको बेनी–मालढुङ्गा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।

Hardik ivf

लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिराले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको उनले बताए। 'काभ्रे भीरमा ठूलो सुख्खा पहिरो गएको छ, त्यसलाई पन्छाउन समय लाग्छ, आज दिनभर पहिरो पन्छाउन गरिएको प्रयास सफल हुन सकेन,' प्रमुख प्रजापतिले भने। उनका अनुसार बुधबार वर्षा नभएमा सडक सुचारु गर्न पहल हुनेछ।

पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब पाँच सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरो खसेको उनले बताए। बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम रहेको छ।

म्याग्दी–काभे्रभीर सडकको सिमानाको बाँदरजुङ्गे भीर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा परेको छ। काभ्रेभीरमा सुख्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उनले बताए। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ।  

बेनी–मालढुङ्गा सडक भने आज दिउँसोदेखि सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुङ्गा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको छ। वर्षा नरोकिएसम्म माथिबाट लेदो खस्ने क्रम नरोकिँदा पहिरो आज दिउँसो मात्रै हटाउन सकिएको हो।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्